केल्भिन किप्टम

दुई घन्टामै म्याराथन दौडने धावकको दुःखद अवसान

काठमाडौं । अन्तर्राष्ट्रिय एथलेटिक्सलाई जसले नजिकबाट बुझेका थिए, तिनीहरू सबैको एउटै धारणा थियो, केन्याली धावक केल्भिन किप्टम असाधारण खेलाडी हुन् ।

यी म्याराथन धावकलाई पछि महान खेलाडीको सूचीमा राखिने छ । तर, तिनै धावकको अल्पायुमा निधन भएको छ । त्यो भनेको मात्र २४ वर्ष । सायद उनी भाग्यमानी रहेनन् भन्दा हुन्छ ।

केल्भिनको यसै साता सडक दुर्घटनामा निधन भएको हो । यो समाचारले पूरा विश्व खेलजगत स्तब्ध बनेको छ । उनको छोटो जीवन यात्रा आफैंमा गजब छ । ६ वर्ष अगाडिसम्म पनि उनीसँग दौडिन एक जोर गतिलो जुत्ता थिएन । तर तिनै धावकलाई म्याराथनको नयाँ इतिहास रच्ने छ भनेर भनिएको थियो ।

सन् २०२२ सम्म उनले एउटै म्याराथन पनि  दौडेका थिएनन् । तर, एकपल्ट के दौडिए बाँकी इतिहास भइदियो । उनी प्रायः धेरै कम बोल्थे । मिहिनेत भने असाध्यै धेरै गर्थे । अनि दौडिँदा उनमा डर भन्ने नै केही छैन जस्तो देखिन्थ्यो ।

खासमा उनको चर्चा त्यतिबेला सुरु भएको थियो, जतिबेला उनले गत अक्टोबरमा सिकागो म्याराथन जितेका थिए । त्यो पनि नयाँ विश्व कीर्तिमानसहित । यसक्रममा उनले इलिएड किपचोगेको नाममा रहेको कीर्तिमान भंग गरेका थिए ।

उनले सिकागोमा ४२.२ किलोमिटरको दौड पूरा गरेका थिए २ घण्टा ३५ सेकेन्डमै । यो समयमा विश्वास नहुन सक्छ तर, साँच्चै उनले यति नै समयमा यति लामो दूरी तय गरेका थिए ।

त्यसपछि त भन्न सुरु भएको थियो, कोही कसैले औपचारिक रूपमा म्याराथन दौड २ घण्टाभन्दा कम समयमा पूरा गर्न सक्नेछ भने त्यो केल्भिन नै हुनेछन् । उनी आफैंले पनि यस्तो ऐतिहासिक प्रदर्शन गर्ने दाबी गरिरहेका थिए । किपचोगेको नाममा रहेको कीर्तिमान भंग गर्नेक्रममा पनि उनले साढे एक मिनेटभन्दा बढीको समयमा सुधार गरेका थिए, जुन धेरै अर्थमा सनसनीपूर्ण थियो । एकपल्ट यति धेरै समयले कीर्तिमान भंग भएको कमै मात्र छ ।

यति धेरै सम्भावना बोकेका धावकलाई एकाएक गुमाउनुपर्दा विश्व एथलेटिक्स स्तब्ध हुन पुगेको छ । अझ विशेषतः केन्याली एथलेटिक्सका लागि यो अपूरणीय क्षति हो । सिकागो म्याराथन जितेयता पहिलो प्रतिक्रिया दिनेक्रममा केल्भिनले भनेका थिए, ‘मेरो करियर त भर्खर सुरु भएको छ,  खेलजीवन सुरु गरेको पनि भर्खरै हो ।’

अप्रिलमा हुने रोटोरडम म्याराथनमा उनी दुई घण्टाभन्दा कम समयमा दौड्ने योजनामा थिए । अब यी सबै अधुरो रहे ।

हुन् पनि केल्भिनले न ओलम्पिक न त विश्व च्याम्पियनसिप खेल्न पाए । त्यो अर्थमा उनले विश्व एथलेटिक्सका कुनै पनि ठूला प्रतियोगिता खेलेकै थिएनन् । किनकि उनको खेलजीवन भर्खर सुरु भएको थियो, तर त्यसमा चाँडै पूर्णविराम लाग्यो ।

मानवीय प्रदर्शनमा कुनै सीमा नै हुन्न । उनी यस्तै भन्थे । केन्याको पश्चिममा भएको उक्त सडक दुर्घटनामा उनीमात्र होइन, उनका प्रशिक्षक गेरभिस हाकिजिमानाको पनि निधन भएको थियो ।

वास्तवमै विश्व खेलकुदका लागि यो ठूलै क्षति रह्यो, जुन प्रकारले उनीबाट ऐतिहासिक प्रदर्शन अपेक्षा गरिएको थियो ।