राष्ट्रिय खेलकुद

दशौं राष्ट्रियको लोगो र मस्कट अर्को महिना सार्वजनिक गरिने, निर्धारित समयमै आयोजनाको लागि मन्त्रीले झण्डा लिने

पोखरा । कर्णाली प्रदेशले दुई वर्षपछि हुने १०औं वृहत राष्ट्रिय खेलकुदको लोगो र मस्कट अर्को महिना सार्वजनिक गर्ने भएको छ ।

कर्णाली प्रदेश खेलकुद परिषदका सदस्यसचिव विश्वामित्र सञ्जेलले आगामी मंसिर ६ र ७ गते राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठक बसेर निर्णय गरेपछि लोगो र मस्कट सार्वजनिक गर्ने बताए । राखेपको आगामी बोर्ड बैठक मंसिर ६ र ७ गते कर्णाली प्रदेशको रारामा हुने कार्यक्रम छ ।

राष्ट्रिय खेलकुद परिषदको बुधबार बसेको एक सय १५औं बोर्ड बैठकले आगामी १०औं राष्ट्रिय खेलकुद २०८१ साल मंसिरमा कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको थियो । आज (बिहीबार) पोखरा रंगशालामा हुने नवौं वृहत राष्ट्रिय खेलकुदको समापन समारोहमा कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ ।

प्रत्येक दुई वर्षमा आयोजना गर्ने उद्देश्यसहित २०३८ सालमा सुरु गरिए पनि नियमित हुन नसक्दा ४१ वर्षमा राष्ट्रिय खेलकुदमा ९ संस्करणमात्र सम्भव भएका छन् । यही कारण यसपाली निर्धारित समयमै १०औं राष्ट्रिय खेलकुद होस भनेर झण्डा प्रदेशका सामाजिक विकास मन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम बनाइएको छ ।

यसअघि राष्ट्रिय खेलकुदको झण्डा सम्बन्धित प्रदेशका सदस्यसचिव (त्यसअघि क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष)ले बोक्ने चलन थियो । ‘यसपाली चाँही निर्धारित समयमै राष्ट्रिय खेलकुद होस भनेर सरकारलाई नै झण्डा बोकाइनेछ,’ राखेपका एक वरिष्ठ अधिकारीले भने ।

सरकारले नै जिम्मेवारी लिने भावनाअनुरुप पोखरा रंगशालामा आज साँझ समापन समारोहमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले झण्डा लिने छन् ।

कर्णाली प्रदेश खेलकुद परिषदका सदस्यसचिव सञ्जेलले १०औं राष्ट्रिय खेलकुदका लागि आफूहरुले पहिल्यै तयारी थालिसकेको बताउँदै निर्धारित समयमै हुनेमा ढुक्क रहन अनुरोध गरे ।

‘हाम्रो चाँही १०औं राष्ट्रिय खेलकुद आयोजनाको यात्रा यहीँबाट सुरु हुन्छ । ६ महिनाअगाडि देखि नै सामाजिक विकास मन्त्रालयले पूर्वाधार विकासको काम सुरु गरिसकेको छ । समयमै १०औं राष्ट्रिय खेलकुद आयोजना गरेर हामी नयाँ उदाहरण प्रस्तुत गर्न चाहन्छौं,’ उनले भने ।