सिरी ए अन्तर्गत

युभेन्ट्स घरेलु मैदानमै पराजित

काठमाडौं । युभेन्ट्स इटालियन सिरी ए अन्तर्गत आइतबार सम्पन्न खेलमा घरेलु मैदानमै पराजित भएको छ ।

युभेन्ट्स एलियन्ज स्टेडियममा मोन्जासँग २-० ले स्तब्ध बनेको हो । मोन्जालाई जित दिलाउन प्याट्रिय सिउरिया र ड्यानी मोटाले समान एक गोल गरे ।

यस जितसँगै २० खेलमा २५ अंक जोडेको मोन्जा ११ औं स्थानमा रहँदा पराजय ब्यहोरेको युभेन्ट्स समान खेलबाट २३ अंकका साथ १३ औं स्थानमा छ ।

खेलको १८ औं मिनेटमा सिउरियाले गोल गर्दै मोन्जालाई अग्रता दिलाएका थिए । उनले पेपिनको पासलाई सदुपयोग गरेका हुन् ।

खेलको ३९ औं मिनेटमा मोटाले गोल गरेपछि पाहुना टोलीले पहिलो हाफमा २-० को अग्रता लिएको थियो । उनले कार्लोस अगस्टोको पासलाई पोस्टको दिशा दिएका थिए ।

दोस्रो हाफमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि मोन्जाले २-० को सहज जित निकाल्यो ।