स्पेनिस ला लिगा

अग्रता बढाउँदै बार्सिलोना

मड्रिड । राफिन्हाले खेल सकिन पाँच मिनेट बाँकी रहँदा गरेको गोलमा बार्सिलोनाले मंगलबार ओसासुनामाथि २-१ को जितसहित स्पेनिस ला लिगामा पाँच अंकको अग्रता लिएको छ ।

खेलको छैटौं मिनेटमा गार्सियाले गरेको गोलमा ओसासुनाले अग्रता लिएको थियो । ३१औं मिनेटमा स्ट्राइकर रोबर्ट लेवान्डोवस्की दोहोरो पहेँलो कार्डको दर्शन गर्दैै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।

पहिलो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा बेन्चमा रहेका बार्सिलोनाका जेरार्ड पिकेले पनि रातो कार्डको दर्शन गरेका थिए । 

४८औं मिनेटमा पेड्रीको गोलमा बार्सिलोना खेलमा फर्किएको थियो । ८५औं मिनेटमा राफिन्हाले गरेको गोलमा बार्सिलोनाले जित पक्का गरेको थियो ।

बार्सिलोना १४ खेलमा ३७ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको रियालभन्दा पाँच अंक बढी हो ।

सोमबार रियाल मड्रिड रायो भायकानोसँग ३-२ ले पराजित भएसँगै बार्सिलोनाले दुई अंकको अग्रता लिएको थियो । ओसासुनामाथिको जितपछि बार्सिलोनाले सो अग्रता थप बढाएको हो ।

कतार विश्वकप २०२२ अघि बार्सिलोनाको यो अन्तिम खेल हो । बार्सिलोनाले ला लिगामा डिसेम्बर ३१ मा स्पानियोललाई आतिथ्यता गर्नेछ । सोही दिन ओसासुनाले रियाल सोसिडाडको भ्रमण गर्नेछ ।