नेपाली फुटबल

जीवन भन्नु नै अप्स एन्ड डाउन रहेछ: अञ्जन

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३-१ ले पराजित गर्यो । नेपालको जितमा अञ्जन विष्टले ह्याट्रिक गरे ।

जितपछि पोष्ट म्याच प्रेस कन्फ्रेन्समा बोल्दै अञ्जनले नेपालको जित सम्पूर्ण समर्थकमा समर्पण गरे ।

‘यो हाम्रो लागि एउटा खेल मात्रै थिएन । धेरै पछि फेरि राष्ट्रको झण्डा छातीमा राखेर खेल्न पाएँ धेरै खुशी छु । आजको खेल आजको जित सम्पूर्ण नेपालीलाई समर्पित गर्न चाहन्छु । आज पनि त्यही पुरानो जोसले खेलेँ अब पनि यही जोसले खेल्छु । जीवन भन्नु नै अप्स एन्ड डाउन । त्यो डाउन थियो होला,’ अञ्जनले भने, ‘धेरै पाठ सिकेँ । मैले पहिले पनि भनेको थिएँ, मैले गोल गरौं भन्दा पनि टिमले जितोस भन्छु । आजको जितको खुसी शब्दमा बयान गर्न सक्दिन । धेरैपछि खेल्न पाएँ । यस्तै कुराले झनै बलियो बनाउने रहेछ । यो फिलिङ्स शब्दमा बयान गर्न सक्दिन । म अझै पनि खेल्छु ।’

नेपाली टिमका प्रशिक्षक प्रदीप हुमागाईँले जितको श्रेय खेलाडीलाई दिए ।

‘यो जितको श्रेय खेलाडीहरुलाई दिन चाहन्छु । इमोसनल फिलिङस केही थिएन । किनभने खेलाडीप्रति विश्वास थियो । अब आगामी दिनबारे धेरै केही सोचेको छैन । अहिलेको यात्रा यहीँसम्म थियो । नेपालमा स्वागतका लागि धन्यवाद,’ हुमागाईंले भने ।

यस्तै, हारपछि बंगलादेशी प्रशिक्षक जाभियर फनान्डेज क्याब्रियाले नेपाल कठिन टिम भएको बताए ।

‘नेपाल कठिन टिम हो । खेलमा हामीले अनावश्यक फाउल गर्यौं । दोस्रो हाफमा हामीले केही मौका पनि बनायौं । उनीहरुले राम्रो खेले । हामीले अन्तिमको करिब १०÷१५ मिनेटमा फेरि नियन्त्रण गुमायौं,’ क्याब्रियाले भने ।