एएफसी यु २० एसिया कप

नेपालको यु २० एसियन कपमा छनोट हुने सम्भावना समाप्त

मनामा । अब्दुल्लाह अलीको दुई गोलप्रेरित बहराइनसँग ६–० गोलको नतिजामा पराजित भएसँगै नेपाली युवा टिमको अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु २० एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ । बहराइनमा जारी छनोटको समूह बीमा परेको नेपालले सुरुआती तीन खेलमा पराजय बेहोरेसँगै एक खेल बाँकी हुँदै सम्भावना समाप्त भएको हो ।

बुधबार राति भएको समूह चरणको तेस्रो खेलमा नेपालले प्रतियोगिताकै खराब नतिजा बेहोर्नु पर्यो । बहराइनका मोहमद अलीले १८औं मिनेटमा १८ यार्ड बक्स भित्रबाट गरेको प्रहार नेपाली डिफेन्डर सुमित श्रेष्ठको हातमा लागेपछि घरेलु टिमले पेनाल्टी पाएको थियो ।

सोही पेनाल्टीको सदुपयोग गर्दै बहराइनी कप्तान अब्दुल्लाह सुल्तानले घरेलु टिमलाई अग्रता दिलाएका थिए । त्यसको ९ मिनेट नबित्दै बहराइनका अब्दुलरहमान गड्बानमाथि खराब फाउल गरेको भन्दै नेपाली डिफेन्डर अमर श्रेष्ठलाई म्याच रेफ्रीले रातो कार्ड देखाएका थिए ।

अमरको रातो कार्डसँगै १० जनामा सीमित भएको नेपालविरुद्ध हाबी भएको बहराइनले ३७औं मिनेटमा पुनः गोल गर्यो । साद अब्दुल्लाले गोल गर्दै मध्यान्तरअघि घरेलु टिमको अग्रता दोब्बर पारेका थिए ।

तालमेलको कमी देखिएको नेपाली टिमले दोस्रो हाफमा थप चार गोल खायो । ६७औं मिनेटमा गड्बानले हेडरमार्फत गोल गर्दै बहराइनको अग्रता ३–० मा लम्ब्याएका थिए । त्यसपछि निरन्तर नेपालमाथि दबाब बनाएको बहराइनका लागि दोस्रो हाफमा मैदान प्रवेश गरेका अब्दुल्लाह अलीले ८४ र ८८औं मिनेटमा लगातार दुई गोल गरे ।

निरीह बनेको नेपालमाथि इन्जुरी समयमा मुबारक मोहमदले सोलो गोल गर्दै बहराइनका लागि ६–० को फराकिलो जित सुनिश्चित गरे । बुधबार राति नै भएको समूह बीको अर्को खेलमा कतारले भुटानमाथि ६–० कै जित निकालेको थियो ।

जितसँगै कतार ६ अंक जोडेर समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । समान दुई खेलबाट चार अंक जोडेको बहराइन दोस्रो तथा बंगलादेश पनि चार अंकसहित तेस्रो स्थानमा छ । यस्तै, पहिलो खेलमा नेपाललाई पराजित गरेको भुटान चौथो स्थानमा रहँदा अंकविहीन नेपाल पाँचौं स्थानमा छ ।

नेपालले समूह चरणको अन्तिम खेल आइतबार बंगालदेशसँग खेल्ने छ ।