फुटसल लिगको ‘ड्र’ सार्वजनिक

काठमाडौं, (खेलाडी)- पोखरामा अर्को महिना हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको ‘ड्र’ सार्वजनिक भएको छ ।

असोज दुई देखि २२ गतेसम्म पोखरामा हुने राष्ट्रिय फुटसल लिगको ‘ड्र’ मंगलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा भएको थियो । 

‘ड्र’ अनुसार लिगको उद्घाटन खेलमा धरानको दी राइजिङ क्लब र काठमाडौंको स्काई गोल्स क्लबले प्रतिस्पर्धा गर्नेछन् । 

पोखरास्थित बहुउद्देश्य कभर्डहलमा हुने प्रतियोगिताअन्तर्गत उद्घाटन दिनको दोस्रो खेलमा पोखराको स्पोर्ट्स क्यासल र प्रभातफेरी युथ क्लब आमने-सामने हुनेछन् । 

१० टोलीको सहभागीता रहने प्रतियोगितामा बागमती प्रदेशबाट चार तथा अन्य सबै प्रदेशबाट एक/एक टोलीले भाग लिनेछन् ।

राउन्ड रोबिन ढाँचामा हुने खेल २०/२० मिनेटको हुनेछ ।

लिगको शीर्ष चार स्थानमा रहने टोलीले प्लेअफमार्फत फाइनलको बाटो खोज्ने छन् । पहिलो चरणको राउन्ड रोबिन लिग समाप्तिमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले क्वालिफायर खेल्नेछन् । जसमा विजयी हुने टोली सोझै फाइनल पुग्नेछ । 

क्वालिफायरमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को मौका पनि पाउनेछ । क्वालिफायरमा पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ । इलिमिनेटरमा भने पहिलो चरणमा तेस्रो र चौथो हुने टोलीबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । यस्तै विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।