पिएनजीविरुध्दको पहिलो एकदिवसीय खेल : नेपाललाई पहिलो झट्का

काठमाडौं, (खेलाडी)- पपुवा न्युगिनी (पिएनजी) विरुद्धको खेलमा नेपाललाई पहिलो झट्का लागेको छ । 

जितका लागि १ सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि १५ रन बनाएका ओपनर कुशल भुर्तेल १२औं ओभरको पहिलो बलमा आउट भए । उनलाई चाड सोपरले एलबिडब्लु धरापमा पारेका थिए । 

२८ बलमा दुई चौका प्रहार गरेका कुशल आउट हुँदा नेपालको स्कोर ४६ रन थियो । 

विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिदेशीय शृंखलाको तयारीका लागि जारी खेलमा पिएनजीले नेपाललाई जितका लागी १ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । 

ओमानको अल अमेरत मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पिएनजीले ३३ ओभरमा सबै विकेट गुमाउनु अघि १ सय ३४ रन बनाएको थियो । 

पिएनजीका लागी लेगा सिएकाले सर्वाधिक ३० रन बनाएका थिए । ३८ बल सामना गरेका सिएकाले कुशल मल्लको बलमा पभेलियन फर्कनुअघि एक चौका र एक छक्का प्रहार गरेका थिए । 

पिएनजीका चाल्र्स एमिनीले २३ बलमा तीन चौकासहित २३ रन जोडे । त्यस्तै गौडी टोकाले २९ बलमा २२, किप्लिन डोरिगाले २४ बलमा १५ र सेसे बाउले २४ बलमा दुई चौकासहित १४ रन जोड्नुबाहेक अन्यले गतिलो योगदान गर्न सकेनन् । पिएनजीका अन्य ब्याट्सम्यानले दोहोर अंकमा रन जोड्न सकेनन् । 

कसिलो बलिङ गरेको नेपालका स्पिनर सन्दिप लामिछानेले सर्वाधिक चार विकेट लिए । १० ओभर बलिङ गरेका सन्दिपले ३५ रन खर्चेर पिएनजीका चार्लस एमिनी, सेसे बाउ र केप्लिन डोरिगा र नोसिएना पोकनालाई पभेलियन फर्काएका थिए । 

त्यस्तै नेपालबाट ‘डेब्यु’ खेल खेलिरहेका विक्रम सोब र कुशल मल्लले समान दुई/दुई विकेट लिए । नेपालबाट खेलको दोस्रो ओभर बलिङ गर्न आएका विक्रमले ‘डेब्यु’को पहिलो बलमै विकेट लिएका थिए । 

पाँच ओभर बलिङ गरेका विक्रमले २० रन खर्चेर पिएनजीका टोनी उरा र कप्तान असद भालाको विकेट हात पारेका थिए । 

सात ओभर बलिङ गरेका कुशलले एक मेडनसहित १९ रन खर्चेर पिएनजीका लेगा सिएका र केप्लिन डोरिगालाई पभेलियन फर्काए । त्यस्तै सात ओभर बलिङ गरेका सोमपाल कामीले ३७ रन खर्चेर पिएनजीका गौडी टोकालाई पभेलियन फर्काए ।