भारतीय फुटबल

पूर्व भारतीय गोलकिपर एआइएफएफको नयाँ अध्यक्ष बन्ने निश्चित!

नयाँ दिल्ली । पूर्व भारतीय गोलकिपर तथा भारतीय जनता पार्टीका नेता कल्याण चौबे अखिल भारतीय फुटबल संघ (एआइएफएफ) को नयाँ अध्यक्ष बन्ने पक्का भएको छ ।

भारतीय सञ्चारमाध्यम इन्साइड स्पोर्टसले जनाएअनुसार अध्यक्षमा चौबे र उपाध्यक्षमा हरिस निर्विरोध हुने भएका हुन् ।

‘एआइएफएफको निर्वाचन सेप्टेम्बर २ मा हुने भए पनि यो अब औपचारिकता मात्र हुनेछ । भारतका पूर्व गोलकिपर तथा भारतीय जनता पार्टीका नेता कल्याण चौबे निर्विरोध निर्वाचित हुने पक्का भएको छ । कर्नाटक राज्य फुटबल संघका अध्यक्ष तथा कांग्रेस विधायक एनए हरिस नयाँ उपाध्यक्ष बन्ने पक्का भएको छ । चौबेले अदालतद्वारा अध्यक्ष प्रफुल पटेलको स्थान लिनेछन्,’ इन्साइडर स्पोर्टसले खुलाएको छ ।

सन् २०२० मा हुनुपर्ने निर्वाचन १८ महिनासम्म नगरेपछि भारतको सर्वोच्च अदालतले तत्कालिन अध्यक्ष प्रफुल पटेललाई पदबाट हटाएको थियो । र, एआइएफएफको जिम्मेवारी तीन सदस्यीय कमिटिलाई दिएको छ । यो कमिटिलाई अदालतले एआइएफएफको निर्वाचन र नयाँ विधान लागू गर्ने जिम्मेवारी दिएको थियो ।

तर, विश्व फुटबलको सर्वोच्च निकाय फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको कारण देखाउँदै एआइएफएफलाई अगस्ट १६ मा तत्काल लागू हुने गरी निलम्बन गरेको थियो । त्यसयता भारत फिफाको निलम्बनबाट फुकुवा हुन तिव्र रुपमा कार्य गरिरहेको छ ।