नेपालको केन्या भ्रमण

केन्याविरुद्ध नेपाल पाँच विकेटले विजयी

नौरबी । केन्याविरुद्धको पहिलो ट्वान्टी २० खेलमा नेपालले पाँच विकेटको जित दर्ता गराएको छ ।

केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा घरेलु टिमले दिएको एक सय ३१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । उनले २४ बलमा एक चौका र दुई छक्का प्रहार गरे । १५ बलमा एक चौका र तीन छक्का प्रहार गरेका आरिफ शेखले २४ रनमा अविजित रहे । ज्ञानेन्द्र मल्लले २३ रन बनाउँदा ओपनर आसिफ शेखले १९ रन बनाए । रोहित पौडेलले टिमको खातामा १३ रन थपे ।

केन्याका लुकास ओलुओच र भिराज पटेलले समान दुई विकेट लिँदा नेहेमिह ओधिएम्बोले एक विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको केन्याले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३० रनको योगफल खडा गरेको थियो ।

केन्याका इर्फान करिमले सर्वाधिक ३४ रन बनाएका थिए । यस्तै, लुकास ओलुओचले ३०, नेल्सन ओधिएम्बोले १९, सचिन भुडियाले १७ र कोलिन्स ओबुयाले १२ रन बनाए ।
नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिएका थिए । कप्तान सन्दीप लामिछानेले दुई विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र आदिल अन्सारीले समान एक विकेट लिए ।

जितसँगै पाँच खेलको ट्वान्टी २० शृंखलामा नेपालले १–० को अग्रता लिएको छ ।

नेपालले केन्यामा पाँच ट्वान्टी २० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअनुसार भदौ ९ गते १४ गतेसम्म ट्वान्टी २० शृंखला र भदौ १७ गतेदेखि एकदिवसीय शृंखला खेल्ने तालिका छ ।