भारतविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल आज, पहिलो जितको खोजीमा अल्मुताइरी

काठमाडौं, (खेलाडी)- भारतविरुद्ध आज बेलुका ५ः३० बजे हुने दोस्रो मैत्रीपूर्ण खेलमा मैदान उत्रँदा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी घरेलु मैदानमा पहिलो जितको खोजीमा हुनेछन् ।

यसअघि बिहीबार भएको पहलो मैत्रीपूर्ण खेलमा नेपाल सुरुआती अग्रता जोगाउन नसक्दा भारतसँग १-१ को बराबरीमा रोकिएको थियो । जुन अल्मु्ताइरीकाे प्रशिक्षणमा नेपालले घरेलु मैदानमा खेलेको पहिलो खेल थियो ।

चैतमा नेपालमै भएको थ्री नेसन्स कप पछि अल्मुताइरी नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । अल्मुताइरीको प्रशिक्षणमा नेपालले हाल सम्म पाँच खेल खेल्दा एउटा मात्र खेल जितेको छ

अल्मुताइरीको प्रंशिक्षणमा नेपालले इराकमा पहिलो खेल खेलेको थियो । कतार विश्वकप छनोट २०२२ को खेल अन्तर्गतका खेलको तयारीका लागि नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ नेपाल पराजित भएको थियो । 

इराकबाटै विश्वकप छनोट २०२२ अन्तर्गत समूह ‘बी’ को बाँकी तीन खेलका लागि कुवेत पुगेको नेपालले पहिलो खेलमा चाइनिज ताइपेइलाई हराएको थियो । जुन हाल सम्म अल्मुताइरीको प्रशिक्षणमा नेपालले हात पारेको एक मात्र जित हो । त्यसपछिका दुई खेलमा भने नेपाल जोर्डन र अस्ट्रेलियासँग पराजित भएको थियो ।

असोज १५ देखी ३० गते सम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले त्यसैका लागि भारतलाई दुई मैत्रीपूर्ण खेलका लागि काठमाडौं निम्त्याएको थियो । 

चिरप्रतिद्धन्द्धी भारतमाथि जित हात पार्न सके नेपाली टोलीका लागि साफ च्याम्पियनसिपका लागि मनोबल समेत उच्च हुनेछ ।

नेपालले पछिल्लो पटक सन् २०१३ सेप्टेम्बर ५ मा साफ च्याम्पियनसिपमा दशरथ रंगशालामा भारतलाई पराजित गरेको थियो । त्यसपछि भने नेपालले भारतलाई हराउन सकेको छैन ।