मध्यान्तरसम्म नेपाल १-० ले अगाडि

काठमाडौं, (खेलाडी)- अञ्जन बिष्टको गोलमा नेपालले भारतविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो हाफसम्म १-० को अग्रता लिएको छ । 

विपक्षी रक्षक र गोलकिपरबीच तालमेल नमिल्दाको फाइदा उठाउँदै अञ्जनले मध्यान्तर हुन सात मिनेट बाँकी रहँदा खाली पोष्टमा गोल गरेका थिए । 

आफ्नै सहयात्रीले दिएको ब्याक पास भारतीय गोलकिपरले नियन्त्रणमा लिन नसक्दा अञ्जनले छरितो पारामा अगाडि बढेर बल चलाखीपूर्ण ढैगले विपक्षी पोस्टमा छिराएका थिए । 

भारतले नेपालमाथि जित हासिल गर्दै वरियताक्रममा सुधार गर्ने उद्देश्यसहित नेपाल भ्रमण गरेको थियो । तर नेपाली रक्षापंक्तिले जब्बर प्रदर्शन गरेपछि भारतीय टोली पहिलो हाफसम्म गोल गर्न त सफल भएन नै, बरु आफ्नै गल्तीमा विर्सनलायक गोल खाएर मध्यान्तर निम्त्याउन बाध्य भयो ।

तर पहिलो हाफसम्म भारत मैदानको सबै पक्षमा कमजोर देखियो । विपक्षी पोस्टमा नेपाली फरवार्डहरुले तीन पटक आक्रमण गर्दा भारतले एक पटकमात्र नेपालको पोस्टमा आक्रमण बुन्न सकेको थियो ।

अर्को महिना माल्दिभ्सको राजधानी मालेमा हुने साफ च्याम्पियनपिमा सहभागिताको तयारीमा रहेका नेपाल र भारतबीच त्यसैका लागि मैत्रीपूर्ण खेल भएको हो । 

नेपाली टोली भने साफ च्याम्पियनसिपका लागि दुई महिनादेखि बन्द प्रशिक्षणमा रहेर अभ्यास गरिरहेको छ । मैत्रीपूर्ण खेलअघि नेपाली टोली पोखरामा दुई साताको अभ्यास गरेर केही दिनअघिमात्र काठमाडौं फर्किएको थियो ।