मैत्रीपूर्ण फुटबल

मैत्रीपूर्ण खेलमा संकटामाथि एनआरटीको जित

काठमाडौं । न्युरोड फुटबल टिम (एनआरटी) ले मैत्रीपूर्ण खेलमा संकटा क्लबलाई ३–२ ले पराजित गरेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एनआरटीले दुई पटक पछि परेको अवस्थालाई उल्टाउँदै जित निकालेको हो ।

खेलको १५औं मिनेटमा आशिष सुमनले गरेको गोलबाट संकटाले अग्रता लिएको थियो । तर, पहिलो हाफको इन्जुरी समयमा कप्तान रन्जित धिमालले गोल गर्दै एआरटीलाई बराबरीमा फर्काएका थिए । रन्जितले आजैको खेलबाट एनआरटीको कप्तानी पाएका हुन् ।

यस्तै, ४७औं मिनेटमा मोसेसले गोल गर्दै पुनः संकटालाई अग्रता दिलाएका थिए । तर, ५८औं मिनेटमा स्टेफानी समिरको गोलबाट एनआरटी खेलमा फर्किएको थियो । त्यसको दुई मिनेटपछि दीपेश घलले निर्णायक गोल गर्दै एनआरटीलाई ३–२ को जित दिलाएका थिए ।

पछिल्लो सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो भएको एनआरटीले मलेसियामा प्रि सिजनका लागि टिवाइसी कप खेल्ने तालिका छ ।

एनआरटीले मलेसियाको पेनाङमा  २८ जुनदेखि दुई जुलाईसम्म हुने प्रतियोगितामा मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको  लिग टू क्लब कारो प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताअन्तर्गत एनआरटीले ३० जुनमा कारो एफसी र २ जुलाईमा पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्ने छ। लिगको अंकको आधारमा विजेता र उपविजेता टोलिको टुङ्गो लाग्ने छ।