किलियन एमबाप्पे

पिएसजी मभन्दा ठूलो होः एमबाप्पे

पेरिस । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) स्ट्राइकर किलियन एमबाप्पेले क्लब आफूभन्दा ठूलो भएको बताएका छन् ।

एमबाप्पेले यसअघि रियाल मड्रिड जाने चर्को चर्चाबीच पिएसजीसँगको सम्झौता नविकरण गरेका थिए । नयाँ सम्झौताअनुसार एमबाप्पे सन् २०२५ सम्म पिएसजीमा रहनेछन्  ।

‘पिएसजी मेरा लागि महत्वपूर्ण छ । सायद यहाँका समर्थकहरुसँग नजिक हुन मसँग समय छैन होला । म पहिले प्रदर्शन देखाउन चाहन्छु । तर, मेरो लागि यो क्लब धेरै कुरा हो, यो सबैलाई थाहा छ,’ एमबाप्पेले भने, ‘यद्यपि, क्लब सधैँ म भन्दा अगाडि आउने गर्छ । म क्लबको हिस्सामात्र हुँ । मअघि पनि पिएसजी थियो र पछि पनि हुनेछ ।’

फ्रान्सका २३ वर्षीय स्ट्राइकर एमबाप्पेले सन् २०२१–२२ को सिजन पिएसजीबाट २८ गोल र १७ असिस्ट गरेका थिए ।

सन् २०१८ मा मोनाकोबाट पिएसजी भित्रिएका एमबाप्पेले हालसम्म एक सय ७३ खेलमा एक सय ५० गोल गरेका छन् ।