अन्तर्राष्ट्रिय मैत्रीपूर्ण

पाराग्वेविरुद्ध दक्षिण कोरियाको रोमाञ्चक बराबरी

सियोल । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण कोरियाले दक्षिण अमेरिकी पाहुना टोली पाराग्वेलाई रोमाञ्चक बराबरीमा रोकेको छ ।

घरेलु मैदान सुवोन विश्वकप रंगशालामा भएको खेलमा कोरियाले २३औं मिनेटमा गोल बेहोरेको थियो । पाराग्वेका मिग्वेल अल्मिरोनले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए ।

यस्तै, ४९औं मिनेटमा अल्मिरोले नै पाराग्वेको अग्रता दोब्बर पारेका थिए । तर, ६६औं मिनेटमा सन ह्युङ मिनको गोल गर्दै कोरियासको खेलमा फर्किने सम्भावना कायम राखेका थिए । यस्तै, खेलको इन्जुरी समयमा जुङ वो योङले गोल गरेपछि कोरिया रोमाञ्चक रुपमा खेलमा फर्किएको थियो ।

कोरियाले यसअघि जुन २ मा ब्राजिलसँग र जुन ६ मा चिलीविरुद्ध खेलेको थियो । ब्राजिलसँग ५–१ पराजित हुँदा कोरियाले दोस्रो खेलमा भने चिलीलाई २–० ले पराजित गरेको थियो ।