महिला क्रिकेट

किन खस्किरहेछ महिला क्रिकेटको स्तर ?

कुनै समय यस्तो थियो, एसियााली क्रिकेट परिषद (एसिसी) का प्रतियोगिताहरूमा नेपाली महिला क्रिकेट टोली सधैं उपाधिको दाबेदार हुने गर्दथ्यो । अन्य एसोसिएट राष्ट्रका लागि नेपाल सधैं बाधक बन्थ्यो । नेपालका लागि थाइल्यान्ड चिरप्रतिद्वन्द्वी रहने गर्दथ्यो । नेपाली महिला क्रिकेटरले एकपछि अर्को कीर्तिमान बनाउँथे ।

नेपालले मलेसियामा जुलाई १७ देखि हुने एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिपको तयारीका लागि गत महिना घरेलु मैदानमा युगान्डाविरुद्ध ५ ट्वान्टी–२० खेलको शृंखला खेल्यो । नेपालले उक्त शृंखला ३–२ ले गुमायो । सुरुआती तीन खेलमा पराजित भएसँगै शृंखला गुमाएको नेपालले अन्तिम दुई खेलमा जित निकाले पनि त्यो शृंखलामा पुनरागमन गर्न पर्याप्त भएन ।

तर, अहिले अवस्था फेरिएको छ । नेपालले सहजै हराउने राष्ट्रहरूको खेलमा सुधार आइरहँदा नेपाली महिला क्रिकेट टोलीको प्रदर्शन भने खस्कँदै गएको छ । अब नेपालविरुद्ध भने विपक्षीका कीर्तिमान बनिरहेका छन् ।

नेपालले मलेसियामा जुलाई १७ देखि हुने एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिपको तयारीका लागि गत महिना घरेलु मैदानमा युगान्डाविरुद्ध ५ ट्वान्टी–२० खेलको शृंखला खेल्यो । नेपालले उक्त शृंखला ३–२ ले गुमायो । सुरुआती तीन खेलमा पराजित भएसँगै शृंखला गुमाएको नेपालले अन्तिम दुई खेलमा जित निकाले पनि त्यो शृंखलामा पुनरागमन गर्न पर्याप्त भएन ।



उक्त शृंखलामा नेपाली महिला क्रिकेट टोली बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा निकै कमजोर देखिएको थियो । जसले गर्दा उनीहरूले मलेसियामा पनि नेपालले उत्साहजनक नतिजा ल्याउँछ भन्न सकिने अवस्था छैन ।

युगान्डाविरुद्धको शृंखलाका क्रममा नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीले युवा खेलाडीबाट आशा गरेको प्रदर्शन हुन नसक्नु र टोलीमा भएका सिनियर खेलाडीले जिम्मेवारीसाथ नखेल्दा शृंखला गुमाउनु परेको प्रतिक्रिया दिएकी थिइन् ।

त्यसमाथि शृंखलामा उत्कृष्ट प्रदर्शन गरेकी १५ वर्षीया हिरनमई राय पनि भिसा समस्याका कारण टोलीमा नरहनु नेपालका लागि दुखद पक्ष हो । मलेसियामै सम्पन्न यु–१९ आइसीसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोटमा समेत उनले स्थान बनाउन सकिनन् ।

केही समयअघि मात्र अमेरिकासहित नेपालको चिरप्रतिद्वन्द्वीको रूपमा रहँदै आएको थाइल्यान्डको महिला क्रिकेटले एकदिवसीय मान्यता पायो । जसका लागि नेपाली महिला क्रिकेट टोली सधैं दाबेदार रहँदै आएको थियो । तर सन् २०१९ यता लगातारको खराब प्रदर्शनका कारण नेपाल सुनौलो अवसरबाट वञ्चित हुनपुग्यो ।

नेपाली महिला क्रिकेट टोलीका पूर्वप्रशिक्षक राजु बस्न्यातले टोलीको प्रदर्शनमा ओरालो लाग्नुमा नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डर नुहुनु र भावी योजना नहुनु प्रमुख कारण रहेको बताउँछन् ।

‘हामी विगतमा एसिसीकै बलियो टोली थियौं,’ बस्न्यातले भने, ‘तर अहिलेको प्रदर्शन निरन्तर ओरालो लागिरहेको छ । महिला टोलीको हकमा प्रतियोगिताहरू नै आयोजना हुँदैन । क्यानले वार्षिक क्यालेन्डर ल्याउन नसक्नु र योजना बनाउन नसक्नु नै हाम्रो प्रदर्शन खस्कनुको मुख्य कारण हो । टोलीमा नयाँ खेलाडीको आगामन भएकै छैनभन्दा फरक नपर्ला । जबसम्म युवा खेलाडीको उत्पादनका लागि योजना ल्याइँदैन, निरन्तर प्रतियोगिताहरू आयोजना गरिँदैन । राम्रो नतिजाको अपेक्षा राख्नु नै गलत हुन्छ ।’

बस्न्यातले युवा खेलाडीका लागि उचित कार्यक्रम नहुँदा नै मलेसियामा सम्पन्न यु–१९ आइसिसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोटमा यु–१९ महिला क्रिकेट टोलीबाट अपेक्षाअनुरुप नतिजा आउन नसकेको बताए ।

‘ट्वान्टी–२० विश्वकपको छनोट भन्दै धनगढीमा यु–१९ महिला क्रिकेट प्रतियोगिता गराइयो,’ बस्न्यातले भने, ‘तर खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा राख्नमै सीमित भयो । उनीहरूलाई म्याच एक्सपोजर नै मिलेन । मलेसियामा उनीहरूले गरेको प्रदर्शन हेर्दा के लाग्छ भने उनीहरू मानसिक रूपमै प्रतियोगिताका लागि पूर्ण तयार थिएनन् । क्यानका पदाधिकारीहरूले पनि महिला क्रिकेटलाई प्राथमिकतामा राखेको भन्ने भाषण गर्न छोडेका छैनन् । अब पनि आफ्नो कमी कमजोरीको समीक्षा नगरे कहिले गर्ने ?’

मलेसियामा बिहीबार सम्पन्न ट्वान्टी–२० विश्वकपको एसियाली छनोटमा नेपालले पाँचमध्ये तीन खेल जित्यो भने दुई खेल गुमायो । पहिलो खेलमा कतारमाथि ७९ रनको जितसहित उत्कृष्ट सुरुआत गरेको नेपाल दोस्रो खेलमा भने युएईसँग १० विकेटले पराजित भयो । उक्त खेलमा नेपाल ८ रनमै सीमित भयो । तेस्रो खेलमा भुटानलाई हराएको नेपाल चौथो खेलमा थाइल्यान्डसँग पराजित भयो । अन्तिम खेलमा भने नेपालले मलेसियालाई हराउँदै प्रतियोगिताको सुखद अन्त्य गयो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपालगन्जमा रहेर महिला क्रिकेट विकासमा लागेका अभियन्ता एलबी क्षेत्री क्यानको प्राथमिकतामा नरहेकाले उचाइ लिइसकेको नेपाली महिला क्रिकेट टोलीको प्रदर्शन खस्किएको बताउँछन् ।

नेपाली महिला क्रिकेट टोलीले सन् २००७ को एसीसी महिला प्रतियोगितामा उपविजेता बनेको थियो । नेपालले सन् २००८ मा एसिसीको उपाधि जित्यो भने सन् २०१० मा उपाधि रक्षा गर्यो । सन् २००९ मा नेपालले मलेसियामा एसिसी महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि पनि जितेको थियो । यी सबै नेपाली महिला क्रिकेटका गर्विलो इतिहास हुन् । तर, नेतृत्वमा उचित योजना नहुँदा नेपाली महिला क्रिकेट टोलीको प्रदर्शनमा दिनप्रतिदिन ओरालो लाग्दै आएको क्षेत्री बताउँछन् ।

उनले पछिल्लो समय नेपाली महिला क्रिकेटले गति लिन नसकेकोमा गुनासो पोखे ।  ‘क्यानसँग महिला क्रिकेटका लागि योजना नै छैन,’ क्षेत्रीले भने, ‘प्रायोजक पाए प्रतियोगिता गर्ने नपाए चुप लागेर बस्ने बानी परिसकेको छ । क्यानले महिला क्रिकेटको विकासमा यो गर्यौं, त्यो गर्यौ भन्नु नै बेकार छ । क्यानसँग न महिला न त पुरुष क्रिकेटको वार्षिक क्यालेन्डर छ । एक महिनाको बन्द प्रशिक्षण राखेर मात्र के हुन्छ । खोइ उनीहरूलाई अभ्यास खेलको व्यवस्था मिलाएको । टोलीमा नयाँ खेलाडी नै छैनन् । प्रशिक्षक पनि एकैजना । टोलीले सुखद नतिजा नल्याएपछि प्रशिक्षक परिवर्तन गर्दै नयाँ ढाँचामा जानुपर्नेमा त्यो पनि हुन सकेको छैन ।’

पुरुष खेलाडीको जस्तै महिला खेलाडीको तलब सुबिधा बढे पनि स्तर बढ्न नसकेको क्षेत्रीको ठम्याइ छ । 

‘क्यानले ग्रेडिङमा परेका पुरुष खेलाडीसँगै महिला खेलाडीको तलबमा पनि वृद्धि गर्यौं भन्दै आएको छ,’ उनले भने, ‘त्यो क्यानले नभई आइसिसीले दिएको रकम हो । के तलब सुबिधा बढेर मात्र क्रिकेटको विकास हुने हो । त्यसका लागि त स्तर पनि बढ्नुपर्छ । हाम्रो क्यान नेतृत्व महिला क्रिकेट खेलको विकासमा कहिले जिम्मेवार हुने ?’