कार्लोस टेभेज

पूर्व अर्जेन्टिनी फुटबलर टेभेजले लिए सन्यास

ब्युनर्स आयर्स । पूर्व अर्जेन्टिनी स्ट्राइकर कार्लोस टेभेजले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् ।

टेभेजले आफ्नो बुवाको मृत्युलाई प्रमुख कारण देखाउँदै फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । टेभेजले बुवाको निधनबाट ‘आफ्नो नम्बर वान समर्थक’ गुमाएको उल्लेख गरेका छन् ।

३८ वर्षीय टेभेजले फुटबल करियरको निरन्तरताका लागि आफूलाई प्रस्ताव आए पनि बुवा सेगुन्डो राइमुन्डोको निधनपछि खेल्न रोक्ने निर्णय गरेको बताए ।

शीर्ष युरोपिनय क्लबहरुबाट व्यवसायिक करियर अघि बढाएका डेभेजले दुई इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड, सिटीसँगै अर्को इटालियन क्लब युभेन्टसबाट खेलेका थिए ।

टेभेजले सन् २०२१ मा अर्जेन्टिनी क्लब बोका जुनियर्स छोडेयता व्यवसायिक फुटबल खेलेका छैनन् । उनले सोही वर्षको फेब्रुअरीमा आफ्नो बुवालाई गुमाएका थिए ।

‘मैले फुटबल छोड्ने निर्णय गरेका छु । यो आधिकारिक हो,’ टेभेजले भने, ‘पछिल्लो वर्ष बोका जुनियर्ससँगको सिजन मेरा लागि निकै पिडादायी रह्यो । सोही बेला मेरो बुवाको ‘ब्रेन डेड’ भएको थियो । र, त्यसै बेला मैले मेरो परिवारलाई म फुटबल खेल्दिन भएको थिए ।’

अर्जेन्टिनाबाट सन् २००४ देखि २०१५ सम्म खेलेका डेभेजले ७३ क्याप जितेका छन् ।