आइटिएफ तेक्वान्दो च्याम्पियनसिप

रिकेश च्याम्पियन

काठमाडौं । आयोजक काभ्रे जिल्ला आइटीएफ तेक्वान्दो संघका रिकेश तामाङ सातौं राष्ट्रिय प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा शनिबार च्याम्पियन बनेका छन् ।

बनेपामा भएको प्रतियोगिताको फाइनल रिकेशले बाग्मती प्रदेशका अनिल तामाङलाई पराजित गर्दै ट्रफीसहित नगद ७५ हजार रुपैयाँ प्राप्त गरे ।

काभ्रे आइटिएफ तेक्वान्दो संघ र काभ्रे तेक्वान्दो एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न च्याम्पियनसिपमा एपीएफका सागर विक तेश्रो भए ।

दोस्रो भएका अनिलले ५० हजार र तेस्रो हुन सफल सागरले २५ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे । यस प्रतियोगितामा आयोजकसहित सात प्रदेश र दुई विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफ र नेपाल आर्मी क्लबका खेलाडीले प्रतिस्पर्धा गरेको थिए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंक लाल घिसिंङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सो अवसरमा सदस्यसचिव घिसिङले व्यावसायिक खेल प्रतियोगिताहरूले नेपालको खेलकुद विकासमा ठूलो मद्दत पुग्ने उल्लेख गर्दै यो प्रतियोगिताले यहाँका युवा प्रतिभालाई उत्प्रेरणा मिल्ने बताए । 

कार्यक्रममा बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडेरेसन (आइएसएफ) का कार्यकारी सदस्य एवम् अखिल नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष राजकुमार कार्कीलगायतको उपस्थिती  थियो ।