रियाल मड्रिड

मड्रिड छोड्ने इस्कोको घोषणा

मड्रिड । रियाल मड्रिडका मिडफिल्डर इस्कोले समरमा क्लब छोड्ने घोषणा गरेका छन् ।

सन् २०१३ मा मालागाबाट मड्रिड अनुबन्धित भएका इस्कोले क्लबबाट लगभग दुई सय ५० खेल खेलेका छन् ।

स्पेनिस मिडफिल्डर इस्कोले रियाल मड्रिडबाट पाँच च्याम्पियन्स लिग र तीन लाग लिगाको उपाधि जितेका छन् । यद्यपि, पछिल्लो केही सिजनयता भने इस्को रियालको धेरैजसो खेलमा बेन्चमा सीमित बन्दै आएका थिए ।

‘म मेरा सम्पूर्ण सहकर्मी, प्रशिक्षकहरु, स्टाफ, र सम्पूर्ण व्यक्तिहरुमा धन्यवाद व्यक्त गर्न चाहन्छु जो सान्टियागो बर्नबेउसँग जोडिन्छन्,’ इस्कोले इन्स्टाग्राममा लेखेका छन्, ‘यस्तै म सम्पूर्ण समर्थकहरुमा पनि धन्यवाद व्यक्त गर्न चाहन्छु जसले मलाई मड्रिडमा पहिलो दिन अविस्मरणीय रुपमा स्वागत गरेका थिए । र, जसले संसारको जुनसुकै कुनामा भए पनि यस टिमलाई समर्थन गर्छन् । गूडबाई, हाला मड्रिड ।’