अरुणा शाही

कप्तान अरुणा प्रशिक्षणका लागि नेदरल्यान्ड्स प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही सेटरको प्रशिक्षणका लागि सोमबार नेदरल्यान्ड्सतर्फ प्रस्थान गरेकी छन् ।

नेपाल भलिबल संघको पहल र नेदरल्यान्ड्सको आमन्त्रणमा अरुणाले जुन २ देखि २५ तारिखसम्म प्रशिक्षण लिनेछिन् ।

अरुणाले लेस्ले डी योङ, सुदोस-डेस्तो क्लब सिनियर वुमन टिम र हान एबिङलगायतबाट प्रशिक्षण लिनेछिन् । सो प्रशिक्षण सत्रमा टिम ट्रेनिङ, फिजिकल ट्रेनिङ र सेटरको रणनीतिको बारेमा सिकाइने अरुणाले खेलाडीसँगको कुराकानीमा बताइन् ।

‘ट्रेनिङ लिनको लागि एकदमै उत्साहित छु । त्यहाँको सिकाइले नेपाली भलिबललाई पनि फाइदा पुग्नेमा विश्वस्त छु,’ उनले भनिन् ।

नेपाली भलिबल टोलीकी सर्वाधिक सफल कप्तानको रुपमा आफुलाई प्रस्तुत गरेकी अरुणाले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक, बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोनको पहिलो र दोस्रो संस्करणमा ऐतिहासिक स्वर्ण पदक दिलाएकी थिइन् ।

यसअघि प्रतिभा माली र सरस्वती चौधरीले पनि वैदेशिक प्रशिक्षणको अनुभव बटुलिसकेका छन् ।