फिफा महिला रेफ्री

फिफा पुरुष फुटबल विश्वकपमा पहिलो पटक महिला रेफ्री

ज्यरिच । फिफा पुरुष फुटबल विश्वकप २०२२ मा पहिलो पटक महिला रेफ्रीहरुको सहभागिता हुने भएको छ ।

फिफाले बिहीबार विश्वकपका लागि ३६ रेफ्री, ६९ सहायक रेफ्री र २४ भिडियो म्याच अफिसियल चयन गरेको हो । विश्वकप आगामी नोभेम्बरदेखि डिसेम्बरसम्म कतारमा हुने तालिका छ ।

फिफाले प्रतियोगिताको लागि तीन महिला रेफ्री स्टेफानी फ्रापार्ट, सालिमा मुकानसांगा र योशिमी यामाशितासँगै तीन सहायक रेफ्री नेउजा ब्याक, क्याथ्रिन नेस्बिट र करेन डियाज मेडिनालाई चयन गरेको छ।

फ्रापार्टसँग युरोपियन फुटबलको अनुभव छ । उनी युरोपियन च्याम्पियन्स लिगमा रेफ्रीको भुमिका निभाउने पहिलो महिला रेफ्रीसमेत हुन् । यस्तै, उनी लिग वानका खेलहरु पनि खेलाउने गर्छिन् ।

यस्तै, मुकानसांगा अफ्रिका कप अफ नेसन्स खेलाउने पहिलो महिला रेफ्री बनेकी थिइन् भने यामाशिता एएफसी च्याम्पियन्स लिग खेलाउने पहिलो महिला अफिसियल थिइन् ।

‘हामी रेफ्रीमा फ्रान्सकी स्टेफानी फ्रापार्ट, रुवान्डाकी सालिमा मुकानसांगा र जापानकी योशिमी यामाशितासँगै असिस्टेन्ट रेफ्रीमा ब्राजिलकी नेउजा ब्याक, मेक्सिकोकी क्याथ्रिन नेस्बिट र अमेरिकाकी करेन डियाज मेडिनालाई प्रतियोगितामा जोड्न पाउँदा निकै खुसी छौं,’ फिफा रेफ्री कमिटिका प्रमुख पियरलुइगी कोलिनाले विज्ञप्तिामा उल्लेख गरेका छन् ।