इङ्लिस प्रिमियर लिग

लिभरपुलले टोटनहमसँग अंक बाँड्यो

लन्डन । लुइस डियाजको गोलमा लिभरपुलले शनिबार घरेलु मैदान एन्फिल्डमा हारको संकट टारेको छ । तर टोटनहमसँग १-१ को बराबरीले लिभरपुलको इङ्लिस प्रिमियर लिगको उपाधि सम्भावनामा भने धक्का लागेको छ ।

५६औं मिनेटमा सन ह्युङ मिनको गोलमा टोटनहमले अग्रता लिएको थियो । जारी सिजन उनको यो २०औं गोल हो । ७४औं मिनेटमा डियाजले लिभरपुललाई खेलमा फर्काएका थिए । 

टोटनहमसँग अंक बाँडेपछि लिभरपुलले उपाधि दौडमा रहेकोे म्यानचेस्टर सिटीमाथि दबाब बढाउने लक्ष्यले समेत पूर्णता पाएन ।

लिभरपुल ३५ खेलमा ८३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको सिटीको पनि समान ८३ अंक छ । सिटीले लिभरपुल भन्दा एक खेल कम खेलेको छ । सिटीले आइतबार न्युक्यासल युनाइटेडको सामना गर्नेछ । न्युक्यासलमाथि जित निकालेमा सिटीले शीर्ष स्थानमा तीन अंकको अग्रता लिनेछ ।

टोटनहम भने ३५ खेलमा ६२ अंकसहित पाँचौं स्थानमा छ । जुन चौथो स्थानको आर्सनलभन्दा एक अंक कम हो ।

मोहम्मद सलाहाको प्रहार टोटनहमका गोलकिपर ह्युगो लोरिसले रोक्दा निराश बनेको लिभरपुल भर्जिल भान डाइकको प्रहार गोलपोस्ट नजिकैबाटै बाहिरिँदा थप निराश बनेको थियो । 

टोटनहमले पनि ह्यारी केनको प्रहार विफल हुँदा निराश बनेको थियो । 

लिभरपुलले मंगलबार एस्टन भिल्लाको सामना गर्नेछ भने टोटनहमले बिहीबार आर्सनलको सामना गर्नेछ ।