एन्फा

एन्फा मुख्यालयमै उपाध्यक्ष खड्का र कास्कीका अध्यक्ष गुरुङबीच घम्साघम्सी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी सरगर्मीले बढेको छ । आगामी वैशाखमा हुने साधारण सभाकालागि विशेष साधारण सभासमेत मंगलबार भइसकेको छ । सोही साधारण सभाका क्रममा उब्जिएको एउटा विवादको पछिल्लो ‘एपिसोड’ बुधबार एन्फा मुख्यालयमा चल्यो ।

पटक–पटक स्थगित भएर ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न साधारण सभाका क्रममा कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले ‘आर्थिक अनियमितता’को विषयमा आफूमाथि भएको छानविनको प्रतिवेदनमा आपत्ति उठाएका थिए । कास्कीका अध्यक्ष गुरुङ आर्थिक कारोबारको विषयमा पक्राउ परेसँगै बाहिरिएका अनियमितताको विषयमा एन्फाका उपाध्यक्ष वीर बहादुर खड्का नेतृत्वको टोलीले छानविन गरि प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनमा आफूलाई ‘फसाउन खोजिएको’ भन्दै कास्की अध्यक्ष गुरुङले मंगलबार साधारण सभामा उपाध्यक्ष खड्कामाथि गाली गलोज सुरु गरेको त्यहाँका एक सहभागीले बताए । उनीमाथि उपाध्यक्ष खड्का नेतृत्वको समितिले १२ दिनको छानविनपछि प्रतिवेदन एन्फालाई बुझाएको थियो । खड्काले बुझाएको प्रतिवेदनमा अध्यक्ष गुरुङले सामान्य मापदण्ड पनि पालना गरेको ठहर छ ।

‘सोही प्रतिवेदनमाथि आपत्ति जनाउँदै अध्यक्ष गुरुङले बोलिरहेका बेला उनी बोल्दै गरेको माइकको लाइनसमेत काटिएको थियो,’ साधारण सभाका एक सहभागीले भने, ‘गुरुङले यसरी फसाएर नहुने र कोठामा गएर मिटिङ बस्नु पर्ने माग अघि सारेका थिए । तर, केही बेरपछि त्यो साम्य भयो ।’

साधारण सभाका दौरान सुरु भएको यो विवादको अर्को ‘एपिसोड’ एन्फामा चल्यो । प्रत्यक्षदर्शीका अनुसार एन्फा उपाध्यक्ष खड्का र कास्की अध्यक्ष गुरुङबीच झण्डै हात हालाहालको अवस्था सृजना भएको थियो । तर, त्यहाँ उपस्थितले त्यसो हुन दिएनन् ।

यसबारे आफूलाई जानाजान् फसाउन खोज्ने खड्काविरुद्ध आफूले प्रतिवाद गरेको कास्की अध्यक्ष गुरुङले स्वीकारे ।

‘मलाई उसले जानाजान फसाउन खोजेको छ, त्यसको कुरा त गर्नुपर्यो नि,’ खेलाडीसँग उनले भने, ‘मैले त्यहि कुरामा प्रतिवाद गरेको हुँ ।’

यद्यपि, उपाध्यक्ष खड्काले गुरुङले आफूमाथि ‘मिसविहेभ’ गरेको बताए ।

‘झगडा केही भएको होइन, मैले हात मिलाउन खोज्दा ऊ रिसाएको हो, रिसायो.... कराउन थाल्यो... मैले फसाएको होइन, संस्थाले दिएको छानविनको जिम्मेवारी मात्रै पूरा गरेको हुँ, भन्दा उसले ममाथि मिसबिहेभ गर्यो,’ उपाध्यक्ष खड्काले खेलाडीसँग भने ।

त्यति मात्रै नभएर साधारण सभामा उपाध्यक्ष खड्काले महासचिव इन्द्रमान तुलाधरको माइक खोसेको बताउँदै कास्की अध्यक्ष गुरुङले भने, ‘आफैँ अनुशासननको कुरा गर्ने... अनि स्टेजमा बसेर त्यस्तो गर्न मिल्छ ।’

साधारण सभाका एक सहभागीले बताएअनुसार छलफल चलिरहँदा उपाध्यक्ष खड्काले महासचिव इन्द्रमान तुलाधरको माइक खोसेर बोलेका थिए । माइक लिएर खड्का आफ‍ू बोल्न थालेपछि कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्दले उपाध्यक्ष खड्काले आफ्नो कुरा राख्न पाउनु पर्ने बताएका थिए ।