च्याम्पियन्स लिग

युभेन्टसले लय नगुमाउने एलेग्रीको विश्वास

रोम । इटालियन क्लब युभेन्टसका मुख्य प्रशिक्षक मासिमिलियानो एलेग्रीले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा भियारियालसँग पराजित भए पनि क्लबले आफ्नो लय नगुमाउने विश्वास व्यक्त गरेका छन् ।

लिगको दोस्रो लेगमा स्पेनिस क्लबलाई ३–० ले नतिजा सुम्पिएसँगै युभेन्टस प्रतियोगिताको प्रि–क्वार्टरफाइलनबाटै बाहिरिएको छ ।

च्याम्पियन्स लिगमा लगातार तेस्रो पटक अन्तिम १६ बाटै बाहिरिए पनि एलेग्रीले भने टोलीको हारप्रति कुनै अफसोस नरहेको बताए ।

‘हामी अबका खेलहरु पनि यही शैलीमा खेल्नेछौं । भियारियालविरुद्ध ६५ मिनेटसम्म हामीले राम्रो खेलेका थियौं,’ उनले भने, ‘खेलका दौरान भियारियालले केही महत्वपूर्ण समयमा सबै खेलाडीलाई रक्षात्मक बनायो । जसलाई बक्सभित्र हुने फउलजस्ता घटनाले मात्र तोड्न सक्थ्यो ।’

यसअघि तीन हप्ताअघि भएको पहिलो लेगमा युभेन्टस भियारियालसँग १–१ को बराबरीमा रोकिएको थियो ।