रुस-युक्रेन तनाव

रुसी टेनिस खेलाडीलाई प्रतिबन्ध लगाउनु पर्ने डोल्गोपोलेभको माग

किभ । युक्रेनका पूर्व टेनिस खेलाडी एलेक्जेन्ड्र डोल्गोपोलोभले टेनिसका सर्वोच्च निकायहरुले रुसी खेलाडीहरुलाई प्रतिबन्ध लगाउनु पर्ने बताएका छन् ।

डोल्गोपोलोभले रुसी खेलाडीलाई राष्ट्रिय झन्डाबीन खेल्न दिने टेनिस निकायहरुको निर्णयले कुनै परिवर्तन नहुने समेत बताए ।

‘आफूहरु युद्धको विपक्षमा रहेको सामान्य जानकारीपछि रुसी खेलाडीहरुलाई खेल्न दिनुले मात्र केही फरक पर्छ जस्तो मलाई लाग्दैन,’ उनले भने ।

यस्तै, उनले युद्धका कारण युक्रेनी नागरिक निकै कठिन र भयावह अवस्थामा रहेको समेत बताए ।

विश्व वरियताको १३औं स्थानमा रहेका पूर्व खेलाडी डोल्गोपोलोभ हाल किभ फर्किएका छन् र रुसी सैनिकविरुद्ध युक्रेनको भुमी रक्षाका लागि लड्न सैन्य प्रशिक्षण लिइरहेका छन् ।

तीन हप्ताअघि रुसले युक्रेनमा सैन्य कारवाही अघि बढाएपछि टेनिस संघले रुस र बेलारुसलाई प्रतिबन्ध लगाएको छ ।