टाेटनहम

शीर्ष चारमा रहनु प्रिमियर लिगको उपाधि जित्नु सरहः कोन्टे

लन्डन । मुख्य प्रशिक्षक एन्टोनिय कोन्टेले च्याम्पियन्स लिगमा छनोट हुनु टोटनहमका लागि इङ्लिस प्रिमियर लिगको उपाधि जित्नु सरह भएको बताएका छन् ।

चेल्सी र इन्टर मिलानका पूर्व प्रशिक्षक कोन्टे नोभेम्बरमा टोटनहमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । कोन्टे प्रशिक्षणपछि लगातार आठ खेलसम्म अपराजित रहने टोटनहमका पहिलो प्रशिक्षक बनेका थिए । तर, जवनरीको ट्रान्सफर विन्डोपछि टोटनहमको यो यात्रामा पूर्णविराम लागेको थियो ।

‘मलाई च्याम्पियन्स लिगमा छनोट हुनेबारे कुरा गर्न उचित लाग्दैन किनकी म लिगको उपाधि र अन्य ट्रफीहरु जित्न चाहन्छु,’ कोन्टेले भने, ‘तर, अहिले लिगको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुनु हाम्रो लागि प्रिमियर लिगको उपाधि जित्नुजस्तै बनेको छ ।’

कोन्टेले यसअघि शीर्ष चारमा रहँदै सिजन टुङ्ग्याउने सम्भावना एक प्रतिशत मात्र रहेको बताएका थिए । तर, सोमबार एभर्टनमाथि ५–० को जित निकालेपछि टोटनहमले तालिकामा छैटौं स्थानको वेस्ट ह्यामसँग अंक बराबरी गरेको छ । लिगमा ४५ अंक जोडेको टोटनहम शीर्ष चारमा रहेको आर्सनलभन्दा तीन अंकले पछि छ ।