स्पेनिस ला लिगा

एट्लेटिकोले गति परिवर्तन गरेको छ: ओब्लाक

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आइतबार रियाल बेटिसलाई ३–१ ले पराजित गरेपछि गोलकिपर यान ओब्लाकले एट्लेटिको मड्रिडले आफ्नो गति परिवर्तन गरेको बताएका छन् ।

बेटिसअघि एट्लेटिकोले ला लिगामा ओसासुना र सोल्भा भिगोलाई पराजित गरेको थियो । लगातार तीन खेलमा जित निकालेपछिओब्लाकले एट्लेटिको लिगको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा पुग्ने विश्वास व्यक्त गरे ।

‘यो फरक एट्लेटिको हो र हामी यसैलाई निरन्तरता दिनेछौं । यस्तै प्रदर्शनको निरन्तरताले मात्र हामी च्याम्पियन्स लिगमा पुग्न सक्छौं,’ उनले भने, ‘क्लबले अझै लामो यात्रा तय गर्न बाँकी छ । हामीले यस्तै प्रदर्शन निरन्तर जारी राख्यौं भने पक्कै पनि क्लबले लिगको शीर्ष चारमा रहने सिजनको अन्त्य गर्नेछ ।’

बेटिसमाथि जित निकालेसँगै २७ खेलबाट ४८ अंक जोडेको एट्लेटिको तालिकाको चौथो स्थानमा उक्लिएको छ । लिगको पाँचौ स्थानमा रहेको बेटिसले समान खेलबाट ४६ अंक जोडेको छ ।