‘मनकारी झापालीको साथले निस्फिक्रीका साथ प्रतियोगिता सम्पन्न गर्छौं’

झापा नेपाली फुटबलको उर्भर भूमि हो । नेपाली राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा झापाले नेपाली फुटबललाई थुप्रै स्टार खेलाडी दिएको छ । वर्षैभरी फुटबलका विभिन्न खाले गतिविधिमा व्यस्त हुने झापाको गुन नेपाली फुटबलले विर्सिनसक्नु छ । झापाली फुटबलको शानलाई पछिल्लो सात वर्षदेखि थप फैलाउने काम गरेको प्रतियोगिता हो झापा गोल्डकप । पछिल्लो दुई वर्ष कोभिड १९ को महामारीका कारण हुन नसकेको प्रतियोगिता यही फागुन २१ देखि ३० सम्म विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदैछ । झापाली फुटबल, प्रतियोगिताको तयारी र आयोजक टोली झापा ११ को विषयमा आधारित रहेर खेलाडी डटकमका लागि प्रदेश एक प्रमुख बुद्ध तामाङले पाँचौं झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतसँग गरेको कुराकानीको सम्पादित अंश:

झापा गोल्डकपको तयारी कसरी भइरहेको छ ?

अहिले त हामी मैदानको स्तरोन्नतिको काम गरिरहेका छौं । मैदान सम्याउने र घाँस रोप्ने काम भइरहेको छ । प्यारापिट बनाउने काम पनि सँगै चलिरहेको छ । चाँढै हामी यसलाई अन्तर्राष्ट्रिय स्तरको बनाएर खेलाडी उतार्ने तयारीमा छौं ।

आर्थिक व्यवस्थापन कसरी गर्नुभएको छ ? बजेट कतिको हो ?

हाम्रो बजेट पहिलाजस्तै हो । पहिला एक करोड ४० लाख रुपैयाँ खर्च भएको हो । यसपाली पनि खर्च कटौती गर्ने कुरा आएन । खेलाडीलाई पहिलाभन्दा अझ राम्रो सुविधा दिनुपर्ने हुन्छ ।

यो खर्च जुटाउने हामी झापालीहरुको परम्परा छ, हामी सदस्य बनाउँछौं । सदस्य बनाएका साथीहरुले सहयोगस्वरुप २१ हजार रुपैयाँ हामीलाई प्रदान गर्नुहुन्छ र झापा गोल्डकपको सदस्य बन्नुहुन्छ । त्यसपछि गोल्डकप हुँदा प्रत्येक संस्करणमा उहाँहरुले पाँच हजारका दरले हामीलाई सहयोग गर्नुहुन्छ । त्यो नै हाम्रो मुख्य स्रोत हो ।

यसबाहेक मुख्य प्रायोजकका रुपमा चौधरी ग्रुपले हामीलाई सहयोग गर्नुभएको छ । महामारीको यो समयमा पनि चौधरी ग्रुपले मुख्य प्रायोजकका रुपमा नेपाल आइस बियरलाई अघि सारेर हामीलाई ठूलो सहयोग गर्नुभएको छ । अरु प्रायोजकहरु पनि छन् ।

प्लाटिनम, गोल्ड र सिल्भर प्रायोजकहरु आउने क्रम जारी छ । हामीलाई स्थानीय व्यापारी र दाताहरुको पनि सहयोग छ । हामीलाई खर्चको समस्या छैन । छोटो समय भए पनि हामीलाई पैसा जुटाउन गाह्रो छैन ।

पुरस्कारको व्यवस्था कस्तो छ ?

प्रतियोगिता जित्ने टिमले उपाधिसँगै १२ लाख ५५ हजार रुपैयाँ पाउनेछ भने उपविजेता टिमलाई ६ लाख पाँच हजार रुपैयाँ नगद प्रदान गरिनेछ । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल दिइनेछ । उत्कृष्ट घोषित हुने गोलकिपर, रक्षक, मिड्फिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्ताले २१ हजार रुपैयाँको दरले पुरस्कार पाउनेछन् । प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ दी म्यान बन्न सफल हुने खेलाडीलाई ९ हजार ९ सय ९९ रुपैयाँ प्रदान गरिनेछ ।

आयोजकको टिम झापा ११ को विषयमा विभिन्न हल्लाहरु बजारमा छन् । तपाईहरुको तयारी चाँही कस्तो छ ?

हो, दर्शकहरुलाई एउटा भ्रम पनि सिर्जना भएको छ । झापा ११ एउटा उच्च स्थानमा पुगिसकेको, आफ्नो कुसल खेल प्रदर्शन गरिसकेको टिम आजको अवस्थामा छैन भन्ने हल्ला चलेको छ । तर पनि विश्वस्त हुनुस, तपाईहरु हामी पहिलाभन्दा पनि सशक्त रुपमा झापा ११ लाई हामी मैदान उतार्नेछौं । मलाई लाग्छ यसपालीको गोल्डकप झापा ११ ले चुम्न पनि सक्छ । र झापा ११ सहित अरु ९ वटा टिम यो मैदानमा उत्रिनेछन् ।

कस्ता टिम आउँछन् ? कुनै टिम पक्का भइसकेको छ ?

तीनवटा विभागीय टिम हुन्छन् । अनि प्रायजसो ‘ए’ डिभिजनमा खेलेका टिमहरु आउँछन् । यसमा एउटा भारतको टिम पनि हुन्छ । दुई वटा टिमले भाग लिन खोजेको छ । तर त्योमध्ये कुन राम्रो हुन्छ भन्ने हामीले बुझिरहेका छौं । भारतबाट एउटा राम्रो टिम ल्याउने हाम्रो प्रयास हो ।

मोफसलको प्रतिष्ठित प्रतियोगितामा दर्शक बस्ने प्यारापिट त छैन, अनि मैदान कस्तो हुन्छ ?

हामीसँग भएको एउटै कमी भनेकै प्यारापिट हो । हामीसँग मैदान राम्रो छ । तर सरकारी निकायको नजर त्यहाँ नपरेको कारणले गर्दा प्यारापिटमा हामी समस्यामा छौं । हामीले दुःखमा बाँसको प्यारापिट बनाएर खेलाउनुपर्ने बाध्यता छ । तर पनि भोली बनिसक्दा तपाईहरुले हेर्न सक्नुहुनेछ, त्यो प्यारापिट सिमेन्टेडजस्तै राम्रो प्यारापिट हुनेछ । हामीलाई गर्व पनि लाग्छ, हामी झापा गोल्डकप गर्दै जाँदा बाँसकै भए पनि स्तरीय प्यारापिट बन्नेछ । त्यसका लागि चिन्ता गर्नुपर्दैन ।

कति क्षमताको प्यारापिट बनाउनुहुन्छ ?

दर्शकको चाप थेग्ने प्यारापिट बन्छ ।  १० देखि १२ हजार दर्शक अटाउने प्यारापिट बनाउँदैछौं ।

अन्त्यमा झापा गोल्डकपको बारेमा केही भन्न चाहनुहुन्छ ?

झापावासीहरुको अतुलनीय सहयोग भइरहेको छ । म त सामाजिक अभियन्ताको रुपमा काम गर्ने मान्छे हो । सबैखाले अभियानमा झापावासीको योगदान उल्लेख्य रहने गरेको छ । अभियानको क्रममा हामीले चार/साँढे चार करोड रुपैयाँसम्मको काम गरेका छौं ।

पूरा देश महामारीबाट आक्रान्त हुँदा, मानिसहरुले खान नपाएको अवस्थामा पनि काम गर्यौं । पिसिआर मसिनदेखि अक्सिजनको अभाव हुँदा खेरी मान्छेसँग यसैगरी सहयोग जुटाएर अक्सिजन बैंक पनि खडा गर्न सफल भएका छौं । त्यसको तुलनामा यो झापा गोल्डकप ठूलो होइन । एक करोड ४० लाख रुपैयाँ उठाउन हामीलाई गाह्रो छैन ।

झापामा हामी मनकारी मानिसहरु बस्ने गर्छौं । यहाँ मन भएका सहयोगीहरु छन् । त्यसैले निस्फिक्रीका साथ यो गोल्डकप हामी सफलताका साथ सम्पन्न गर्न सक्नेछौं । अन्त्यमा म सम्पूर्ण आदरणीय महानुभावहरुलाई, दर्शकहरुलाई की यो खेललाई मन पराइदिनुभएको छ । यसपाली पनि सधैभन्दा अझ मज्जाले सहभागी भइदिनुहोला र अरुलाई पनि खबर गरिदिनुहोला । यो झापा गोल्डकप आयोजक समितिको मात्र होइन, यो त सबैले आफ्नो ठानेर लिइदिनुहोला भन्न चाहन्छु ।