लामा टेन्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगिता

अनुसा र विनोद ‘मोस्ट भ्यालुएबल प्लेअर’ घोषित

काठमाडौं । नेपाल पुलिस क्लबकी अनुसा मल्ल र त्रिभुवन आर्मी क्लबका विनोद महर्जन लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेअर’ घोषित भएका छन् ।

बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा सम्पन्न प्रतियोगितामा पुलिसलाई जित दिलाउन अनुसाले र आर्मीलाई उपाधि दिलाउन विनोदले महत्वपूर्ण भूमिका खेलेका थिए ।

पुरुषतर्फको फाइनलमा आर्मीले टाइम्स कलेजलाई ९०–५८ स्कोर र पुलिसले रोयल बास्केटबल एकेडेमीलाई ५२–४९ स्कोरले हराउँदै च्याम्पियन बनेका थिए । यस खेलमा अनुसाले सर्वाधिक १९ स्कोर जोडेकी थिइन् ।

‘मोस्ट भ्यालुएबल प्लेअर’ घोषित भएका दुवै खेलाडीले समान १० हजार रुपैंया सहित ट्रफी प्राप्त गरे ।

यस्तै, प्रतियोगिताको पुरुष उदयमान खेलाडीमा रोयल बास्केटबल एकेडेमीका सुदिप पौडेल र महिला उदयीमान खेलाडीमा रुपन्देही बास्केटबल संघकी दीपिका गुरुङ घोषित भइन् ।