ट्वान्टी २० विश्वकप ग्लोबल छनोट

ग्लोबल छनोटको उपाधि युएईलाई

मस्कट । ओपनर मुहम्मद वसिमले शतकीय इनिङ खेलेपछि आइसिसी ट्वान्टी २० विश्वकप ग्लोबल छनोटको उपाधि सयुक्त अरब इमिरेट्स (युएई) ले जितेको छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा युएईले आयरल्यान्डलाई सात विकेटले पराजित गर्दै छनोटको उपाधि चुम्यो ।

आयरल्यान्डले दिएको एक सय ६० रनको लक्ष्य युएईले १८.४ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

युएईका ओपनर वसिमले ६६ बलमा सात चौका र आठ छक्कासहित एक सय १२ रन बनाए । यसबाहेक, रोहन मुस्तफाले ३७ रन जोडे ।

आयरल्यान्डका जस लिटलले दुई र एन्डी म्याकब्रेनले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउनुअघि एक सय ५९ रनको योगफल  खडा गरेको थियो ।

आयरल्यान्डका ह्यारी टेक्टोरले अर्धशतकीय इनिङ खेलेका थिए । उनले ३७ बलमा एक चौका र तीन छक्का प्रहार गरे । यस्तै, सेन गेटकेटले ३० रन बनाउँदा मार्क अडाएर र लोरक्यान टकेरले समान २० रन जोडे ।

युएईका जहुर खान र रोहन मुस्तफाले समान तीन विकेट लिए । त्यस्तै, बसिल हमेद, कार्थिक मेइयापन, कासिफ दाउन र जुनैद सिद्धिकीले एक एक विकेट हात पारे ।

हारका बावजुद आयरल्यान्ड अस्ट्रेलियामा अक्टोबरदेखि सुरु हुने ट्वान्टी २० विश्वकपमा छनोट भइसकेको छ । प्रतियोगितको फाइनलमा पुगेसँगै दुबै टोली विश्वकप छनोट भएका हुन् ।