नेपाली महिला फुटबल

सावित्रा मंगलबार नेपाल फर्किँदै

काठमाडौं । कतारमा उपचाररत नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भन्डारी (साम्बा) मंगलबार स्वदेश फर्किने भएकी छिन् । साम्बा करिब आठ महिनाको उपचारपछि नेपाल फर्किन लागेकी हुन् ।

एपिएफ क्लबबाट घरेलु लिग खेल्ने साम्बा गत फागुन तीन गते राष्ट्रिय महिला लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी थिइन् । खेलको ६९औं मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किदा साम्बाको घुँडामा गम्भिर चोट लागेको थियो । दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको कारण उनको उपचार अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा कतारमा भएको हो ।

उनी असार १२ गते उपचारका लागि कतार गएकी थिइन् । साम्बाले चोटका कारण लिगका अन्तिम दुई खेल गुमाएकी थिइन् । महिला लिगमा अपराजित रहँदै उपाधि उचालेको एपिएफबाट साम्बाले १० खेलमा ४३ गोल गरेकी थिइन् ।

यसअघि कतार फुटबल संघको सहयोगमा नेपाली पुरुष राष्ट्रिय टोलीका दुई खेलाडी विमलघर्ति मगर र बिक्रम लामाको उपचार भएको थियो ।