सहिद स्मारक ‘ए’ डिभिजन लिग

तीन अंक जाेड्न पाउँदा खुसि छुः युगलकिशाेर राई

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगमा पहिलो जित निकालेपछि हिमालयन शेर्पाका प्रशिक्षक युगलकिशोर राईले तीन अंक जोड्न पाउँदा खुशी भएको बताएका छन् ।

'मेरो डेब्यु सिजनमा तीन अंक ल्याउन पाउँदा धेरै खुशी छु । लिगमा कहिलेकाही टोलिको सुरुआत नराम्रो हुन्छ, अन्त्य राम्रो हुन्छ र कहिले सुरुआत राम्रो र अन्त्य नराम्रो हुन्छ,' उनले भने, 'आज जित्दा हामी मात्तिएका छैनौ र यसअघि हार्दा आत्तिएका पनि थिएनौं तर दबाब भने थियो । गोल गर्ने मौका धेरै बनाए पनि सुरूमा सकेनौ तर अन्त्यमा सफल भयाैं।' 

हिमालयन शेर्पाले बिग्रेड ब्वाइज क्लबलाई ३-१ ले हराउँदै लिग तालिकाको आठौं स्थानमा उक्लिएको छ । यसअघि हिमालयन शेर्पा रेलिगेसन क्षेत्रमा थियो । लिगमा हिमालयन शेर्पाकाे याे पहिलाे जित हाे ।

यस्तै बिग्रेड ब्वाइजका प्रशिक्षक सनोज श्रेष्ठले गोलरक्षकको खेल अनुभवको कमिले गर्दा हार्न पुगेको बताए ।

'हाम्रो टोलि सेट नहुदै गोल खान पुग्यौ । साथै गोलरक्षककाे खेलमा अनुभव कम देखियो । उसलाई 'बी' डिभिजनबाट 'ए' मा ल्याएका थियौ । पहिलो रोजाईको गोलरक्षक इन्जर्ड छन् । गोल खाएपछी केही दबाबमा थियौ । दोस्रो हाफमा खेलमा फर्किएका पनि थियौ तर गोलरक्षककै कारण गोल खान पुग्यौं,' उनले भने । हारसँगै बिबिसी पाँच अंकका साथ नवाैं स्थानमा पुगेको छ ।