सहिद स्मारक ‘सी’ डिभिजन

‘सी’ डिभिजनका नौ क्लबको एन्फा अध्यक्षलाई ध्यानाकर्षण पत्र

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजनका नौ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।  

 आरसी ३२ फुटबल एकेडेमीले नियमविपरित अर्कै क्लबमा आबद्ध खेलाडी खेलाएको र ‘बी’ डिभिजन लिगको मिति घोषणा गर्नुपर्ने भन्दै क्लबहरुले सोमबार ध्यानाकर्षण पत्र बुझाएका  हुन् ।

ध्यानाकर्षण पत्र बुझाउनेमा महावीर स्ट्डिज एन्ड एथलेटिक्स एसोसिएसन, खालीबारी युवा फुटबल क्लब, स्वयम्भू क्लब, सामाजिक युवा क्लब, झम्सीखेल युथ क्लब, मनोहरा युनाइटेड युवा क्लब, पुल्चोक स्पोर्टस क्लब, गोलबजार स्पोर्टस क्लब र समाज कल्याण खेलकुद केन्द्र छन्।

एन्फाको खेलाडी दर्ता नियमावलीमा एक खेलाडी एक क्लबमा मात्र दर्ता भएर खेल्न पाउने नियम छ । तर क्लबहरुले आरसी ३२ ले ‘बी’ डिभिजनकाे झापा फुटबल क्लबमा दर्ता भएका सुमनबहादुर मगरलाई खेलाएको भन्दै कारबाहीको माग गरेका छन्।

चैत २२ गते खालीबारीविरुद्धको खेलमा मगरलाई खेलाएपछि एन्फालाई पत्राचार गरेको र एन्फाबाट कारबाहीको प्रक्रियामा रहेको भन्ने मौखिक जानकारी आएको क्लबहरुको भनाइ छ। तर अटेर गरी आरसी ३२ ले बैशाख ४ मा महावीर क्लबसँगको खेलमा पनि मगरलाई टिममा राखेको थियो ।

मगरले वैशाख ४ मा झापा क्लबबाट रिलिज पत्र ल्याए पनि ४८ घन्टाअघि नै खेलाडी दर्ता हुनुपर्ने फिफाको नियम भएको पनि क्लबहरुले बताएका छन्।

साथै क्लबहरुले गत चैत २५ गते हुने भनिएको ‘बी’ डिभिजन लिग अहिलेसम्म नभएकोमा पनि आपत्ति जनाएका छन्। उनीहरुले सातौं चरण समाप्तीसम्म ‘बी’ डिभिजन लिगको मिति घोषणा नभए जारी ‘सी’ डिभिजन लिग स्थगित हुन सक्ने चेतावनी पनि दिएका छन् ।  

यसैगरी क्लबहरुले लिगमा रेफ्रीको विवादित निर्णयलाई पनि छानविन दायरामा ल्याउनु पर्ने भन्दै सक्षम रेफ्रीबाट खेल सञ्चालन गर्न अनुरोध गरेका छन्।