मिल्स गोल्डकप

कोशी प्रदेश प्रहरी कार्यालय सेमिफाइनलमा

विराटनगर । साविक विजेता गोलबजार स्पोर्टिङ क्लब सिराहलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगर चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

विराटनगरको जुट मिलको खेल मैदानमा सोमबार सम्पन्न अन्तिम क्वार्टरफाइनलको निर्धारित समयमा दुवै टोलीबाट २-२ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।  

पेनाल्टीमा प्रहरीका लागि उज्वल राई, सन्देश विक, विवेक राई र सुमित प्रधानले गोल गरेका थिए।

गोलबजारका लागि विनोद राई र निर्जल मोक्तानले मात्र गोल गरे। गौरव श्रेष्ठ र मीन धिमालको प्रहार प्रहरीका गोलकिपर पुरन राईले बचाए ।

प्रहरीले फाइनल प्रवेशको लागि बिहीबार घरेलु टोली पेमा युवा क्लब विराटनगरसँग खेल्नेछ।

खेलको १२औं मिनेटमा निशान्त लिम्बुले गोल गर्दै गोलबाजारलाई अग्रता दिलाए। पेनाल्टी बक्स भित्र सन्दीप लिम्बुले निकालिदिएको पासलाई  निशान्तले पोीटको दिशा दिए ।

रमेश राजवंशीले ४४औं मिनेटमा गोल गर्दै प्रहरीलाई बराबरीमा ल्याए । उनले अभिषेक आले मगरको पासलाई सदुपयोग गरे ।

खेल सकिँन दुई मिनेट बाँकी रहँदा सिनोद राईले गोल गर्दा गोलबजार २-१ ले अगाडि बढ्यो । तर एक मिनेटपछि नै विवेक राईले गोल गर्दै प्रहरीलाई २-२ को बराबरीमा ल्याए ।

बुधबार पहिलो सेमिफाइनल एपिएफ, पकली र कन्काइ स्पोर्टिङ क्लब, झापाबीच हुनेछ।