कपिलवस्तु तिलौराकोट गोल्डकप

पहिलो खेलमै पराजित मछिन्द्र बाहिरियो

फाइल तस्विर

काठमाडौं । ‘ए’ डिभिजनको मछिन्द्र क्लब  प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको पहिलो खेलमै पराजित भएको छ ।  

कपिलवस्तुस्थित बुद्ध रंगशालामा आइतबार सम्पन्न दोस्रो क्वार्टरफाइनलमा  मछिन्द्र सडन डेथमा हनामी बिएफसीसँग ५-४ ले पराजित भयो ।  जित निकालेको हनामीले सेमिफाइनल स्थान सुरक्षित गर्दा पराजित मछिन्द्र प्रतियोगिताबाट बाहिरियो ।

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसक्दा खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिएको हो ।

पेनाल्टीमा हनामीका लागि अभिषेक महतो, नेपोल्डन, सुजित बुढाथोकी, आशिष सुमन, भविन्द्र मल्लले गोल गरे। राम शाही, अनिल खड्का र अमृत श्रेष्ठ भने चुके ।

मछिन्द्रका लागि विशाल तामाङ, चन्दन दास, छिरिङ लामा र आशिष श्रेष्ठले गोल गरे। विमल घर्तीमगर, विजय भुजेल, पासाङ लामा र अजय चौधरीको प्रहार भने गोलमा परिणत हुन सकेन ।

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा सोमबार नेपाल पुलिस क्लब र सहारा फुटबल एकेडेमी  भिड्नेछन्।