इटालियन सिरी ए

एसी मिलानको रोमाञ्चक जित

काठमाडौं । एसी मिलानले इटालियन सिरी ‘ए’ मा शनिबार घरेलु टोली फियोरेन्टिनामा २-१ को रोमाञ्चक जित निकालेको छ ।

आर्टेमियो फ्रान्सी रंगशालामा मिलानलाई जित दिलाउन रुबेन लोफ्टस चीक र राफेल लियोले गोल गरे । फियोरेन्टिनका लागि अल्फ्रेड डुकानले गोल फर्काए ।

जितसँगै ३० खेलमा ६५ अंक जोडेको मिलान दोस्रो स्थानमा छ । पराजित फियोरेन्टिना २९ खेलबाट ४३ अंकका साथ १०औं स्थानमा छ ।

खेलको ४७ औं मिनेटमा चीकको गोलमार्फत मिलानले अग्रता लियो । उनले लियोको पासलाई सुदपयोग गरे । मिलानको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन ।

तीन मिनेटपछि नै डुकानले गोल गर्दै फियोरेन्टिनालाई बराबरीका ल्याए । उनले लुकास बेल्ट्रानको पासलाई पोस्टको दिशा दिए ।

लियोले ५३ औं मिनेटमा तिज्जानी रेइन्डर्सको पासलाई गोलमा परिणत गर्दै मिलानलाई २-१ को रोमाञ्चक जित दिलाए ।