भिनिसियस जुनियर

जातिय दुर्व्यवहारले भिनिसियस निरास

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडका ब्राजिलियन विंगर भिनिसियस जुनियर पत्रकार सम्मेलनमा रोएको विषय अहिले चर्चामा छ ।

स्पेनविरुद्ध हुने मैत्रीपूर्ण खेलअघिकाे पत्रकार सम्मेलनमा भिनिसियस आफूमाथि भइरहेको दुर्व्यवहारका कारण संघर्ष गरिरहेको बताउदै भावुक भएका हुन् । उनले कालो जातिको भएका कारण आफूमाथि स्पेनमा जातिय दुर्व्यवहार भइरहेको बताएका छन् ।  

लगातार यस्तो दुर्व्यवहारको सिकार बन्दा निरास भएको भन्दै भिनिसियसले आफु फुटबलमा रमाउन नपाएको बताएका छन् ।

‘म केवल फुटबल खेल्न चाहन्छु । मेरो क्लब र परिवारका लागि सबथोक गर्न चाहन्छु, मैले यसरी कालो जातिमाथि दुर्व्यवहार भएको देखेको थिइन्,’ भिनिसियसले भने । 

भिनिसियसले आफुलाई क्लबका अध्यक्ष र क्लबले साथ दिएका कारण आफु बलियो रहेको बताए । उनले भने ‘जातिय दुर्व्यवहार गर्नेले मैले स्पेन छाडोस् भन्ने चाहे पनि त्यसबारे सोचेको छैन ।  म विश्वको उत्कृष्ट क्लब छोड्न चाहन्न । म क्लबका अध्यक्ष र क्लबले गरेको सहयोगका कारण  बलियो भइरहेको छु ।’

 स्पेनिस लिगामा भिनिसियसमाथि लगातार जातीय दुर्व्यवहार हुँदै आएको छ । गत वर्षको मे महिनामा रियल मड्रिड र भलेन्सिया बीचको खेलमा मेस्टाला स्टेडियममा दर्शकहरुले भिनिसियसलाई जातीय दुर्व्यवहार गरेपछि खेल १० मिनेटका लागि रोकिएको थियो ।

त्यतिबेला रियाल मड्रिडले सो घटनाको कडा विरोध गरको थियो । त्यस्तै भ्यालेन्सियाले जातीय दुर्व्यवहार गर्ने एक समर्थकको पहिचान भएको भन्दै यो घटनाको निन्दा गरेको थियो ।