एन्ड्रिक

१७ वर्षका एन्ड्रिकको गोलमा ब्राजिलले इङ्ल्यान्डलाई हरायो

काठमाडौं । १७ वर्षीय एन्ड्रिकको निर्णायक गोलमा पूर्व विश्वविजेता बाज्रिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा घरेलु टोली इङ्ल्यान्डलाई १–० ले पराजित गरेको छ ।

१० मिनेट बाँकी रहँदा भिनिसियस जुनियरको प्रहार इङ्ल्यान्ड गोलकिपर जोर्डन पिकफोर्डले बचाउन नसक्दा प्राप्त बललाई एन्ड्रिकले जाली चुमाए ।

एन्ड्रिक यसै सिजनको अन्त्यसँगै रियाल मड्रिडसँग जोडिने छन् । पाल्मेरियासबाट खेलिरहेका उनले यसअघि नै सम्झौता गरिसकेका छन् ।

 १७ वर्ष २४६ दिनका उनी वेम्बलीमा सबैभन्दा कम उमेरका गोल गर्ने खेलाडी बनेका छन् । एन्ड्रिक खेलको ७१औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान प्रवेश गरेका थिए ।

दुबै टोलीले वेम्बलीमा भएको मैत्रीपूर्ण खेलमा युवा खेलाडीलाई अवसर दिएका थिए । इङ्ल्यान्डका प्रशिक्षक म्यानेजर गेराथ साउथगेटले तीन खेलाडीलाई ‘डेब्यू’
 गराए । 

यही खेलमार्फत एन्थोनी गोर्डन,एजरी कोन्सा र कोबी माइनुले ‘डेब्यू’को अवसर पाएका हुन् । 

ब्राजिलले गोलका केही राम्रो अवसर बनाए पनि सदुपयोग गर्न सकेन । ह्यारी म्यागुइरको ब्याकपास नियन्त्रणमा राख्दै राफिन्हाले हानेको प्रहार सटिक रहन सकेन ।

इङ्ल्यान्ड वेम्बली रंगशालामा २१ खेलपछि पराजित भएको छ । पछिल्लो पटक सन् २०२० अक्टोबरमा नेसन्स लिगमा डेनमार्कसँग पराजित भएको थियो ।