इन्डियन प्रिमियर लिग २०२४

कोलकत्ताको रोमाञ्चक जित

काठमाडौं । अन्तिम ओभरमा जित निकाल्न १३ रन चाहिएको अवस्थामा मात्र आठ रन जोडेपछि सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) को तेस्रो खेलमा कोलकत्ता नाइड राइड (केकेआर)सँग चार रनले पराजित भएको छ ।

शनिबार राति भएको खेलमा सुरुवाती ब्याटिङ गर्दै केकेआरले निर्धारित २० ओभरमा सात विकेट गुमाँदै दुई सय ८ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको हैदराबादले सात विकेट गुमाउँदा मात्र दुई सय चार रन जोड्न सक्यो ।

अन्तिम ओभरमा हैदराबादले दुई विकेट गुमाउँदा मात्र आठ रन जोड्यो । हर्षित रानाले १९.१ ओभरमा छक्का प्रहार गर्दै आशा जगाएका थिए । दोस्रो बलमा हर्षितले हेइन्रिक क्लासेनलाई एक रन दिए भने तेस्रो बलमा सहबाज अहमेदलाई श्रेयस ऐयरबाट क्याच गराए । पाँचौ बलमा पनि ६३ रन बनाएका क्लासेनलाई  हर्षितले सुयस शर्माबाट क्याच गराउँदै जित दिलाउन सफल भएका हुन् ।

हैदराबाटको लागि क्लासेनले २९ बलमा सर्वाधिक ६३ रन बनाए । ओपनरद्वय मयंक अग्रवाल र अभिषेक शर्मा दुबैले समान ३२ रन जोडेका हुन् । पहिलो विकेटको लागि दुईबीच ६० रनको साझेदारी भएको थियो । छैटौं विकेटको लागि क्लासेन र अहमेदबीच १६ बलमा ५८ रनको साझेदारी भयो । केकेआरको लागि हर्षितले सर्वाधिक तीन र आन्द्रे रसेलले दुई विकेट लिए ।

यसअघि इडेन गार्डेनमा घरेलु टोली केकेआरले टस हारेर सुरुवाती ब्याटिङ गरेको थियो । उसको इनिङ्समा प्लेयर अफ दि म्याच अलराउन्डर रसेलले अविजित ६४ रनको बनाए । ओपनर फिल साल्टले ४० बलमा ५४ रन बनाएका हुन् । रसेलले २५ बलमा तीन चौका र सात छक्कासहित अविजित ६४ रन बनाएका थिए ।

सातौं विकेटको लागि रसेल र रिन्कुसिंहबीच ३३ बलमा ८१ रनको साझेदारी भएको थियो । रिन्कुले २३ रनको योगदान गरेका हुन् । हैदराबादको लागि नटराजले सर्वाधिक तीन विकेट लिएका  थिए । हैदराबादका बलर भुवनेश्वर कुमार  महंगो सावित भए । उनले चार ओभरमा ५१ रन खर्चिएका थिए ।