अर्जेन्टिना

अर्जेन्टिनाको सहज जित

काठमाडौं । कप्तान लियोनल मेसीबिना मैदान उत्रिएको विश्व विजेता अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एल साल्भाडोरलाई ३–० ले हराएको छ ।

शनिबार बिहान भएको खेलमा अर्जेन्टिनालाई जिताउन रक्षक क्रिष्टियन रोमेरो, मिडफिल्डरद्वय एन्जो फर्नान्डेज र जिओभानी लो सेल्सोले गोल गरेका हुन् ।

अर्जेन्टिनाले खेलमा सुरूबाटै दबाबमा राखेको हो । एञ्जल डि मारियाको पासमा रोमेरोले १६औं मिनेटमै अग्रता बनाए । ४२औं मिनेटमा बक्सभित्र अनमार्क रहेका एन्जोले सहज गोल गर्दै पहिलो हाफमै २–० ले टोलीलाई बढाए ।

लौटारो मार्टिनेजको पासमा ५२औं मिनेटमा सेस्सोले तेस्रो गोल गरेका हुन् ।

अब, अर्जेन्टिनाले २७ मार्चमा कोस्टारिकासँग खेल्नेछ । यो खेलमा पनि मेसी हुने छैनन् । उनी घाइते भएपछि यो दुई मैत्रीपूर्ण खेलमा विश्राम लिएका छन् ।

शनिबार राति भएको मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई ४–० ले पराजित गरेको छ । अर्काे खेलमा तीन खेलाडीले डेब्यु पाएपनि पूर्व विश्व च्याम्पियन स्पेन कोलम्बियासँग १–० ले पराजित भएको हो ।