नेपाली फुटबल

नेपाल बहराइनसँग ५–० ले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको तेस्रो खेलमा नेपाल बहराइनसँग ५–० ले  पराजित भएको छ ।

बहराइनको रिफास्थित बहराइन राष्ट्रिय मैदानमा बहराइनलाई जिताउन माहदी अल हुमाइदान, सायद बाकर, अली मादन,  इब्राहिम अल खातल र इस्मील अब्दुलातिजले गोल गरेका हुन् ।

नेपाल समूह ‘एच’ मा लगातार तेस्रो खेलमा पराजित भयो । यसअघि युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको हो । बहराइनको भने दोस्रो जित हो ।

दशरथ रंगशालामा हुनुपर्ने खेल बहराइनमा भएको हो ।  नेपालले ‘होम म्याच’ खेल्ने अवसर पाएपनि दशरथ रंगशालाको मैदान जीर्ण हुँदा खेल बहराइन सरेको थियो ।

नेपाल पहिलो ९ मिनेटमै २–० ले पछि परेको थियो । पहिलो हाफको इन्जुरी मिनेटमा थप एक गोल भयो । दोस्रो हाफमा भने मात्र एक गोल भएको हो ।

खेलको दोस्रो मिनेटमै माहदी अल हुमाइदानले पहिलो गोल गरे । मोहम्मद जासिम मार्हूनले दिएको बल नियन्त्रणमा लिँदै उनले गोलकिपर किरणकुमार लिम्बूलाई बिट गरेर गोल गरेका थिए ।

दोस्रो गोल नवौं मिनेटमा भयो । २९ वर्षीय रक्षक सायद बाकरले सिक्स यार्ड बक्सबाट सहज गोल गरे । वालिद अल हायमको कर्नरमा रक्षक सनिस श्रेष्ठले क्लियर नगरेको बललाई बाकरले गोल गरेका हुन् ।

पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल भयो । गोलकिपर किरणले बचाएपछि अली मादनको हेडर गोल हुन पुगेको थियो । यसअघि मोहम्मद जासिमले प्रहार गरेको फ्रिकिक बारमा लागेर फर्किएको थियो ।

८७औं मिनेटमा बहराइनका इब्राहिमले चौथो गोल गरे । हाजा अलीले मिलाएको क्रसलाई बक्सभित्रबा इब्रामिहले हेडर गोल गरेका हुन् ।

इन्जुरी समयमा पाएको पेनाल्टी सदुपयोग गर्दै इस्मीलले चौथो गोल गरेका हुन् । बहराइनका खेलाडीलाई बक्सभित्र लाकेन लिम्बूले लडाएपछि अस्ट्रेलियन रेफ्री एलेक्जान्डर किङले बहराइनलाई पेनाल्टी अवसर दिएका हुन् ।

यसअघि खेलको १६औं मिनेटमा १३ गोलको कीर्तिमान बराबर गरेको अञ्जन विष्ट घाइते हुँदा मैदान छाडेका थिए । उनको स्थानमा प्रशिक्षक भिन्सेन्जो अल्वर्टाे एनेसले दिनेश हेम्जनलाई मैदान पठाए । 

चार खेलाडीको डेब्यू

अभिषेक लिम्बु, सौभाग्य राई( सन्जित), समीर तामाङ र सन्जिव विष्टले राष्ट्रिय टोलीका लागि डेब्यू गरे । सन्जिव बाहेक बाँकी तीनै खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए ।

रक्षक अभिषेक लिम्बुले पहिलो पहिलो रोजाइमै डेब्यू गरे । यस्तै रक्षक सौभाग्य दोस्रो हाफमा सुमित श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए । युवा फरवार्ड समिरले ७९औं मिनेटमा हिसुब थपलियाको स्थान लिए । तर उनले धेरै समयम मैदानमा बिताउन भने पाएनन् ।

समिरकै स्थान लिँदै फरवार्ड सन्जिवले ८८औं मिनेटमा डेब्यू गरे ।