नेपाली फुटबल

पहिलो हाफमा नेपाल ३–० ले पछि

काठमाडौं । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत बहराइनविरुद्ध पहिलो हाफ सम्पन्न हुँदा नेपाल ३–० ले पछि परेको छ ।

बहराइनको रिफास्थित बहराइन राष्ट्रिय मैदानमा बहराइनलाई जिताउन माहदी अल हुमाइदान, सायद बाकर र अली मादनले गोल गरे ।

नेपाल पहिलो ९ मिनेटमै २–० ले पछि परेको थियो । पहिलो हाफको इन्जुरी मिनेटमा थप एक गोल भयो । बहराइनसँगको खेलबाट रक्षक अभिषेक लिम्बूले राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् ।

खेलको दोस्रो मिनेटमै माहदी अल हुमाइदानले पहिलो गोल गरे । मोहम्मद जासिम मार्हूनले दिएको बल नियन्त्रणमा लिँदै उनले गोलकिपर किरणकुमार लिम्बूलाई बिट गरेर गोल गरेका थिए ।

दोस्रो गोल नवौं मिनेटमा भयो । २९ वर्षीय रक्षक सायद बाकरले सिक्स यार्ड बक्सबाट सहज गोल गरे । वालिद अल हायमको कर्नरमा रक्षक सनिस श्रेष्ठले क्लियर नगरेको बललाई बाकरले गोल गरेका हुन् ।

पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल भयो । गोलकिपर किरणले बचाएपछि अली मादनको हेडर गोल हुन पुगेको थियो । यसअघि मोहम्मद जासिमले प्रहार गरेको फ्रिकिक बारमा लागेर फर्किएको थियो ।

पहिलाे हाफमा नेपालले कुनै पनि गाेलकाे अवसर बनाउन सकेकाे छैन । 

यसअघि खेलको १६औं मिनेटमा १३ गोलको कीर्तिमान बराबर गरेको अञ्जन विष्ट घाइते हुँदा मैदान छाडेका थिए । उनको स्थानमा प्रशिक्षक भिन्सेन्जो अल्वर्टाे एनेसले दिनेश हेम्जनलाई मैदान पठाएका छन् ।

बहराइनविरुद्ध नेपालको पहिलो एघारः
गोलकिपरः किरण कुमार लिम्बू (कप्तान)
रक्षकः सनिस श्रेष्ठ, अनन्त तामाङ, अभिषेक लिम्बू, छिरिङ लामा, सुमित श्रेष्ठ
मिडफिल्डरः लाकेन लिम्बू, उत्सव राई, मनिष डांगी, हिसुव थपलिया
स्ट्राइकरः अञ्जन विष्ट (दिनेश हेम्जन)