कतार विश्वकप २०२२

इटाली विश्वकपलाई छानिनेमा प्रशिक्षक मान्चिनी विश्वस्त

रोम । रोबर्टो मान्चिनीले युरोपियन च्याम्पियन इटालीले अर्को वर्ष कतारमा हुने विश्वकपलाई स्थान पक्का गर्नेमा आफू पूर्ण ‘विश्वस्त’ रहेको बताएका छन् ।

युरोपेली छनोटको समूह ‘सी’ मा शुक्रबार राती स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेपछि दुवै टोलीको खातामा समान अंक छ । गोलअन्तरमा अगाडि रहेको इटाली शीर्ष स्थानमा रहँदा स्विट्जरल्यान्ड दोस्रो स्थानमा छ ।

विश्वकपको युरोपेली छनोटबाट सबै समूहका विजेताले सोझै कतारको टिकट काट्छन् भने उपविजेताले प्लेअफमार्फत विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा ठाउँ खोज्नुपर्नेछ ।

प्रतियोगितामा इटालीले सोमबार नर्दन आयरल्यान्डसँग खेल्दा स्विट्जरल्यान्डले बुल्गेरियाको सामना गर्दैछ । विश्वकपमा सोझै स्थान बनाउँन इटालीले आफ्नो खेलमा जितबाहेक स्विट्जरल्यान्डको नजितामा पनि भर पर्नुपर्ने भएको छ ।

इटालीले आगामी खेलमा आफूले जित्दा स्विट्जरल्यान्डले पूरा तीन अंक हासिल नगरोस, यदी स्विट्जरल्यान्डले विजय हासिल गरे पनि गोलअन्तरमा आफूलाई उछिन्न नसकोस भन्ने कामना गर्नेछ ।

‘विश्वकपलाई छानिन निकै कठिन छ । तर हामी दुई गोलले अघि छौं । हामी अन्तिम खेल खेल्न आयरल्यान्ड जादैछौं । हामी आफ्नो स्वभाविक खेल खेल्दै जित निकाल्न चाहन्छौं,’ उनले भने, ‘आशा छ बुग्लेरियाले राम्रो प्रदर्शन गर्नेछ । हामीले आफ्नो खेल खेल्नुछ र जित निकाल्नु छ । यो हाम्रो उदेश्य हो ।’