नेपाली फुटबल

पोखरालाई धनगढीको डर

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल) दोस्रो संस्करणको फाइनलमा स्थान बनाउन पहिलो क्वालिफायर्समा आज (सोमबार) पोखरा थन्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दुबै टोलीलको लक्ष्य फाइनल रहेको छ । पोखरा तालिकाको शीर्ष स्थानमा रहेर प्लेअफमा स्थान बनाउँदा धनगढी दोस्रो रह्यो ।

आज पराजित हुने टोलीले फाइनल प्रवेशको लागि थप एक मौका पाउनेछ । दोस्रो क्वालिफायर्समा इलिमिनेटर विजेता काठमाडौं  रेजर्स र ललितपुर सिटी मध्ये एकसँग खेल्नेछ ।

लिग चरणमा पोखरा र धनगढीबीचको भेट १–१ गोलको बराबरीमा समाप्त भएको थियो । पहिलो संस्करणको भेटमा धनगढीले १–० ले विजयी भयो । पोखराविरुद्ध अपराजित रहेको धनगढी औषतमा बलियो रहेको देखिन्छ ।  

शीर्ष स्थानमा रहेको पोखराले लिग चरणमा आठ मध्ये सर्वाधिक चार जित निकालेको थियो । तीन खेलमा अंक बाढेर एक खेल हारेको पोखराले १५ अंक जोडेको हो । तीन खेल जितेको धनगढी १३ अंकसहित दोस्रो भयो ।

धनगढीका प्रशिक्षक युगलकिशोर राईले पोखरालाई कमजोर नमान्ने र कमजोरी सुधार गर्दै खेल्ने बताएका छन् । पोखराका प्रशिक्षक नविन न्यौपानेले पछिल्लो खेलमा खेलाडीलाई विश्राम दिएको र धनगढीविरुद्ध गर या मरस्थितिमा रहेको बताएका छन् ।