नेपाल सुपर लिग

नेपाल सुपर लिगः चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा

काठमाडौं । खेलको सुरुआती दुई मिनेटभित्रै आफिज ओलावालेले गरेको गोल निर्णायक बनेपछि धनगढी एफसीले नेपाल सुपर लिग(एनएसएल)को दोस्रो सिजनमा एफसी चितवनलाई १-० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा धनगढीको जितमा गोलकिपर टिकेन्द्र थापाले प्रभावशाली प्रदर्शन गरे । जितसँगै अपराजित यात्रालाई निरन्तरता दिएको धनगढी दुई अंकको स्पष्ट अग्रता लिँदै तालिकाको पहिलो स्थानमा उक्लिएको छ । धनगढीको पाँच खेलमा ११ अंक छ ।

हारसँगै शीर्ष चितवनको शीर्ष चारमा पुग्ने सम्भावना न्युन बनेको छ । दुई खेल खेल्न बांकी हुँदा चितवनको ५ अंक छ र उ तालिकाको सातौं स्थानमा छ ।

आफिजले राइट साइडबाट रोहन कार्कीले दिएको पासलाई सदुपयोग गर्दै धनगढीलाई अग्रता दिलाएको थिए । पहिलो हाफ सकिन ६ मिनेट बांकी छँदा नवयुग श्रेष्ठको सुन्दर क्रसमा छिरिङ गुरुङले गरेको प्रहार धनगढीका रक्षक रन्दिप पौडेलले क्लियर गर्दा चितवनले बराबरीको अवसर गुमाएको थियो ।

पहिलो हाफको  इन्जुरी समयमा चितवनले पेनाल्टी अवसरलाई गोलमा परिणत गर्न सकेन । आइकोनिक खेलाडी विमल घर्ती मगरको पेनाल्टी प्रहार धनगढीका गोलकिपर टिकेन्द्र थापाले बचाएका थिए । यसअघि बक्सभित्र रोहनले बललाई क्लियर गर्न खोज्दा रिचार्ड अग्यमाङले ह्यान्ड गर्न पुगेका थिए ।

दोस्रो हाफको चौंथो मिनेटमा बक्सभित्रबाट विमलले गरेको लोअर कर्नर प्रहार टिकेन्द्रले बचाए ।

५३ औं मिनेटमा चितवनका नवयुगको हेडर पुनः टिकेन्द्रले असफल बनाए । अफ्रिइ अक्वाहको फ्रिकिकमा बक्सभित्र रहेका नवयुगको हेडरलाई टिकेन्द्रले बाहिर फ्याकिदिए । त्यसको पाँच मिनेटपछि मार्की खेलाडी आशिष चौधरीले खाली पोस्टमा गोल गर्न नसक्दा धनगढीले अग्रता दोब्बर बनाउन सकेन । आफिज ओलावालेले लेफ्ट साइडबाट गोलकिपरलाई विशाल श्रेष्ठलाई कटाउँदै निकालेको बललाई पेनाल्टी क्षेत्रमा अनमार्क रहेका आशिषको प्रहार पोस्टभन्दा निकै परबाट बाहिरियो ।