काठमाडौं । इन्जुरी समयमा विमल घर्ती मगरको पेनाल्टी प्रहार गोलमा परिणत हुन नसक्दा चितवन नेपाल सुपर लिग(एनएसएल)को दोस्रो सिजनअन्तर्गत धनगढी एफसीविरुद्ध पहिलो हाफमा १-० ले पछि परेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बिहीबार जारी खेलमा आफिज ओलावालेको गोलमा धनगढीले अग्रता लिएको थियो । ओलावालेले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गरेका थिए । आफिजले राइट साइडबाट रोहन कार्कीले दिएको पासलाई सदुपयोग गरेका थिए ।
यसबीच दुवै टोलीले केही अवसर सृजना गरेपनि सुरुआती हाफमा अन्य गोल हुन सकेको छैन ।
३९औं मिनेटमा नवयुग श्रेष्ठको सुन्दर क्रसमा छिरिङ गुरुङले गरेको प्रहार धनगढीका रक्षक रन्दिप पौडेलले क्लियर गर्दा चितवनले बराबरीको अवसर गुमाएको थियो ।
इन्जुरी समयमा आइकोनिक खेलाडी विमलको पेनाल्टी प्रहार धनगढीका गोलकिपर टिकेन्द्र थापाले बचाए । यसअघि बक्सभित्र रोहनले बललाई क्लियर गर्न खोज्दा रिचार्ड अग्यमाङले हातले बल छुन पुगेका थिए ।
जारी प्रतियोगिताको दुई अपराजित टोलीमध्ये धनगढी आफ्नो पाँचौं खेल खेलिरहेको छ । । चितवनविरुद्ध जित हासिल गरे धनगढी दुई अंकको स्पष्ट अग्रता लिँदै अंकतालिकाको शीर्ष स्थानमा उक्लिनेछ ।
पहिलो खेलमा वीरगंज युनाइटेडलाई २–१ ले हराएको धनगढीले दोस्रो खेलमा एफसी बुटवल लुम्बिनीलाई १-० ले निराश पारेको थियो । धनगढी पछिल्ला दुई खेलयता भने जितविहीन छ । ललितपुरसँग गोलरहित बरबारीमा रोकेको धनगढीले स्पोर्टिङ इलामसँग २-२ को अर्को बराबरी खेलेको थियो ।
छैटौं खेल खेलिरहेको चितवनले शीर्ष चारको अवस्था जिवितै राख्ने हो भने धनगढीविरुद्ध जित्नै पर्नेछ । पहिलो खेलमा पोखरा थन्डर्ससँग १(० ले पराजित चितवनले दोस्रो खेलमा काठमाडौंसँग १-१ को बराबरी खेल्यो । तेस्रो खेलमा वीरगंजलाई २-१ ले हराएको चितवनले चौंथो खेलमा बुटवलसँग दोस्रो बराबरी खेल्यो । पछिल्लो खेलमा भने ललितपुरले चितवनमाथि ३-१ को सहज जित हासिल गरेको थियो ।