नेपाली फुटबल

स्वर्ण पदक विजेता खेलाडीलाई अध्यक्ष शाहीको सम्मान

काठमाडौं । बागमती प्रदेश खेलकुद प्रतियोगिताको महिला फुटबलतर्फ स्वर्ण पदक विजेता काठमाडौंका खेलाडी सम्मानित भएका छन् ।

आइतबार काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाहीले १६ खेलाडी तथा दुई अफिसियल गरी १८ जनालाई सम्मान तथा बधाई दिएका हुन् । टोलीका खेलाडी र अफिसियलले एक थान ट्रयाकसुट उपहार प्राप्त गरेका छन् ।

अखिल नोपल फुटबल संघ (एन्फा)का उपाध्यक्ष शाहीले खेलाडीको प्रदर्शनको कदर गर्दै सम्मान गरको बताए । ‘हेटौडामा भएको फाइलनमा उपाधि जित्दै खेलाडीले जिल्लाको सान बढाएका छन् । त्यसैले अध्यक्षको नाताले खेलाडीको मेहनतलाई कदर गर्दै सम्मान गरेको हुँ,’ पूर्व राष्ट्रिय खेलाडी शाहीले भने ।

पुरस्कार पाएपछि टोलीकी कप्तान पुजा रानामगरले खुसी ब्यक्ति गरिन् । ‘अध्यज्यूले गर्नुभएको पुरस्कारबाट सम्पूर्ण खेलाडी खुसी छौं । यस्तो पुरस्कार र सम्मानले आगामी दिनमा अझै मेहनत गर्न हौसला बढेको छ ।’ शाहीले सम्मान र पुरस्कारसहित खेलाडीलाई दिवा भोजन गराएका थिए ।

हेटौँडाको गौरीटारमा भएको प्रतियोगितामा काठमाडौं जिल्ला अपराजित रहँदै च्याम्पियन भएको थियो । फाइनलमा सिन्धुलीलाई २-० ले हराएको हो । काठमाडौंको जितमा मनिषा थापा र सुजिता लामा घलानले गोल गरेका थिए ।

सेमिफाइनलमा लक्ष्मी तामाङले निर्णायक गोल गर्दा चितवनलाई १-० ले हराएको थियो । यसअघि काठमाडौंले भक्तपुरलाई ५-० र हेटौडालाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

प्रतियोगितामा चार गोल गरेकी काठमाडौंकी मनिषा थापा मगर उच्च गोलकर्ता चुनिइन् । सर्वाेत्कृष्ट खेलाडीमा सरस्वती ऐर, उत्कृष्ट गोलकिपरमा काठमाडौंकै झरना नगरकोटे, उत्कृष्ट मिडफिल्डरमा सुजिता लामा घलान र प्रशिक्षकमा काठमाडौंकै देभेन्द्र जंग शाही घोषित भएका थिए ।

काठमाडौंको टोलीमा कप्तान पुजा, गोलकिपर झरना, सरस्वती, मनिषा र सुजितासहित सन्ध्या बस्नेत, संगिता वाइवा, सुस्मा महर्जन, भगवती खड्का, सिमारानी घले, लक्ष्मी तामाङ, सीता आले, सम्झना तामाङ, कल्पना कुलुङ, टासी ल्यामु शेर्पा र रीताकुमारी खत्री थिए ।

यसैगरी टोलीको प्रशिक्षकमा शाही र व्यवस्थापकमा मनिषा बाँस्कोटा थिए । पुरुषतर्फ फाइनलमा घरेलु टोली मकवानपुरसँग पराजित हुँदा काठमाडौ उपबिजेता बनेको थियो ।