धनगढी । अघिल्लो साता मलेसियामा सम्पन्न एसिसी यू-१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका तीन खेलाडीलाई एसपिए कलेजले सम्मान गरेको छ ।
नेपाली टोलीमा रहेका सुदूरपश्चिमका तीन खेलाडी आशिष लुहार, नरेन भट्ट र अशोक धामीलाई एसपिएले आइतबार सम्मान गरेको हो ।
घरेलु टोली मलेसियामाथि २ सय २१ रनको सानदार जित निकाल्दै नेपालले लगातार तेस्रो पटक यू-१६ इस्ट जोनको उपाधि जितेको थियो ।
कञ्चनपुरका आशिष एसपिए क्रिकेट टोलीको कप्तान पनि हुन् । उनी कलेजमा कक्षा १२ मा अध्ययनरत छन् । यस्तै फाइनलमा शतक प्रहार गरेका नरेन भट्ट बैतडी र अशोक धामी बझाङका हुन् ।
एसपिएले तीनै जनालाई स्नातकोत्तरसम्म निःशुल्क अध्ययन गराउने घोषणा गरेको छ । यस्तै एसिपएले धनगढी क्रिकेट एकेडेमीमा तीनै जनालाई निःशुल्क प्रशिक्षणको समेत व्यवस्था मिलाएको छ ।
क्याम्पस प्रमुख योगराज उपाध्यायले देशकै नाम उचो पारेका खेलाडीहरुलाई सम्मान गर्न पाउँदा एकदमै गौरम्वावित महसुस भइरहेको बताए ।
उनले कलेजमा ८ जना क्रिकेटका मात्रै अन्तर्राष्ट्रिय खेलाडीहरु अध्ययन गरिरहेको बताउँदै खेलाडी र एसपिए पर्यायवाची शब्द जस्तै भएको भन्दै आगामी दिनमा पनि कलेजले खेलाडीहरुको हौसला अभिवृद्धि गर्न यता कार्यक्रम गरिरहने उपाध्यायले बताए ।
खेलाडीका तर्फबाट मन्तव्य राख्दै आशिषले सम्मानका लागि एसपिए कलेजलाई धन्यवाद दिए । उनले गृहनगरमा सम्मानित हुन पाउँदा निकै खुशी लागेको बताए ।
अहिले नेपाली राष्ट्रिय सिनियर पुरुष क्रिकेट टोलीका लोकेश बम, यू-१९ टोलीका नारायण जोशी, बसन्त कार्की, सिनियर महिला राष्ट्रिय टोलीका कविता कुँवर, इश्वरी विष्ट, यू-१९ महिला टोलीका लक्ष्मी साउद, यशोदा विष्ट, सुमन विष्ट, मनिषा चौधरी र मनिषा उपाध्याय एसपिएमा अध्ययनरत छन् ।
त्यस्तै फुटबल, तेक्वान्दो, भलिबल, बास्केटबलका पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु एसपिएमा अध्ययनरत छन् ।