साफ च्याम्पियनसिप

नेपालको प्रारम्भिक टोली घोषणा

फाइल तस्बिर

काठमाडौं । भारतमा हुने पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ  ।

 मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मंगलबार ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

साफ च्याम्पियनसिपको १४औं संस्करण असार ६ देखि १८ गतेसम्म बेङ्गलुरुमा हुनेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।

फिफाको प्रतिबन्धको कारण श्रीलंकाले यस संस्करण खेल्ने छैन भने कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाउन लागेका हुन् ।

सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । 

समूह ‘ए’ मा नेपालसहित साबिक विजेता तथा आयोजक भारत, कुवेत र पाकिस्तान तथा समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश  छन् ।  

असार ६ मा हुने उद्घाटन खेलमा नेपालले कुवेतको सामना गर्नेछ । यो खेल नेपाली समयअनुसार दिउँसा ३ः४५ बजे सुरु हुनेछ ।

यसैगरी नेपालले असार ९ मा मा आयोजक भारत तथा असार १२ मा पाकिस्तानविरुद्ध खेल्नेछ ।

माल्दिभ्समा भएको १३ औं साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग ३-० ले पराजित हुँदै नेपाल उपविजेता बनेको थियो ।

नेपालको प्रारम्भिक टोली

गोलकिपर: किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

रक्षकः  विक्रम लामा, रोहित चन्द, अनन्त तामाङ, देवेन्द्र तामाङ,विमल पाण्डे, सनिश श्रेष्ठ, निशान्त खड्का, आशिष गुरुङ, सिमान्त थापा, अन्जल महर्जन

मिडफिल्डरः  पुजन उपरकोटी,नवीन लामा, एरिक विष्ट, मणिकुमार लामा,सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, विशाल तामाङ

फरवार्डः  नवयुग श्रेष्ठ, अन्जन विष्ट, विमल घर्ती मगर, जिलेस्पीजंग कार्की, आयुष घलान, दिपकराज सिंह ठकुरी, मनिष डाँगी, आशिष चौधरी,  दिनेश हेन्जन