गोदावरी मेयर कप

गोदावरी मेयर कपको सेमिफाइनल समीकरण पूरा

ललितपुर । ललितपुरको थेच्वमा जारी तेस्रो गोदावरी मेयर कप सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

थेच्वको स्थानीय क्लब टु स्टार क्लबको आयोजनामा जारी प्रतियोगितामा शनिबार गोदामचौर(क) र गोदावरी(क)ले अन्तिम चारमा स्थान बनाएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

क्वार्टरफाइनल अन्तर्गत शनिबार सम्पन्न खेलमा वडा न.१ गोदामचौरले वडा न.१४ ठैव तथा गोदावरीले थेच्व(ख) लाई पराजित गरे ।  

थेच्वस्थित दुरिखेल मैदानमा सम्पन्न दिनको पहिलो खेलमा, गोदामचौरले ठैवमाथि ३-० को सहज जित निकाल्यो । गोदामचौरका लागि अरुण लामाले दुई तथा कप्तान जेनिश थापाले एकगोल गरे ।

पहिलो हाफको मध्यतिर अरुणको पासमा पेनाल्टी बक्सभित्र रहेका जेनिशले वान टचमा गोल गरेपछि गोदामचौरले अग्रता लिएको थियो । दोस्रो हाफमा अरुणले दुई गरेपछि गोदामचौरले जित पक्का गर्यो ।

खेलको इन्जुरी समयमा ठैवका कुशल महर्जनको पेनाल्टी बारमा लागेर बाहिरिएको थियो ।

गोदामचौरले सेमिफाइनलमा सोमबार दिउँसो ४ बजे गोदावरीसँग खेल्नेछ ।

दिनको दोस्रो खेलमा गोदावरीले घरेलु टोली थेच्वलाई ४-१ ले हरायो। गोदावरीको जितमा दामोदर कुंवरले दुई गोल गर्दा रिपु भुलान र सायर तामाङले समान एक गोल गरे । थेच्वका कप्तान रोहन महर्जनले एक गोल फर्काए ।

खेलको २६ औं मिनेटमा रिपुको गोलमार्फत गोदावरीले अग्रता लिएको थियो । रक्षक सागर तामाङले मध्यभागबाट दिएको क्रसमा रिपुले उत्कृष्ट हेडर गोल गरेका थिए । त्यसको दुई मिनेटपछि दामोदरको गोलमा गोदावरीले अग्रता दोब्बर बनायो ।

दोस्रो हाफको सुरुवाती दुई मिनेटमै दामोदरले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । दुई मिनेटपछि रोहनको पेनाल्टी गोलमार्फत थेच्वले खेलमा फर्किने प्रयास गरे पनि ८० औं मिनेटमा सायर तामाङको गोलमा गोदावरीले जित सुनिश्चित गर्यो ।

सोमबार पहिलो सेमिफाइनलमा बिहान ९ बजे वडा न.११ चापागाउँ(क)ले वडा न.६ टिकाभैरवको सामाना गर्नेछ । शुक्रबार चापागाउँले  साबिक विजेता वडा न.५ लेलेलाई १-० तथा टिकाभैरवले गोदावरी(ख) लाई ३-२ ले हराएका थिए ।

सोमबारका विजेताले वैशाख २९ गते शुक्रबार हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेतालाई ट्रफी सहित एक लाख र उपविजेतालाई ट्रफी सहित नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीले ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा सहकारी पे, प्लानेट अर्थ सोलुसनु तथा मुख्य प्रबन्धकमा गोदावरी नगरपालिका रहेको छ ।